अय्यूब 10
10
1म जीवनसित थाकिसकेको छु।
म मेरो मनको पीर पोखाउँछु।
2हे परमेश्वर, मलाई दोषी नठहराउनुहोस्!
मेरो दोष के छ, मलाई बताइदिनुहोस्?
3आफ्नै हातले बनाएको मानिसलाई तुच्छ ठानेर
दुष्टहरूका युक्तिलाई समर्थन गरी
यस्तो निष्ठुरी बन्न के तपाईंलाई सुहाउँछ?
4के तपाईंले पनि हामी मानिसले जस्तै नै हेर्नुहुन्छ?
5के तपाईंको आयु पनि हाम्रो जस्तो छोटो छ?
6किन तपाईं मेरा सबै पापहरू खोतल्नुहुन्छ?
किन मेरा सबै दोष खोज्नुहुन्छ?
7तपाईं जान्नुहुन्छ कि म निर्दोष छु
र कसैले मलाई तपाईंबाट बचाउन सक्नेछैन।
8तपाईंका आफ्ना हातले मलाई बनाउनुभयो र रूप दिनुभयो,
अब त्यही हातले मलाई नाश गर्नुहुन्छ।
9याद गर्नुहोस्, तपाईंले मलाई माटोले बनाउनुभयो।
के अब धुलो-पिठो पारेर मलाई माटैमा फर्काउनुहुन्छ?
10मलाई जन्म दिनु तपाईंले मेरा बुबालाई शक्ति दिनुभयो
र मेरी आमाको गर्भमा मलाई बढाउनुभयो।
11तपाईंले मलाई हाड र नसाहरूले बनाउनुभयो
र ती हाडलाई मासु र छालाले भर्नुभयो।
12तपाईंले मलाई जीवन दिनुभयो र ममाथि अनन्त प्रेम राख्नुभयो।
तपाईंको कृपाले मलाई बचाइराखेको छ।
13तर अब मलाई थाहा भयो कि
ती सबै समय तपाईंले गुप्तमा मलाई नाश गर्ने उपाय गरिरहनुभएको थियो।
14पाप गरेको खण्डमा मलाई इन्कार गर्न
मैले पाप गर्ला कि भनेर तपाईंले हेरिरहनुभएको थियो।
15मैले पाप गर्नासाथ तपाईंबाट दण्ड पाउँछु,
तर भलाइ गर्दा केही जस पाउँदिनँ।
यसैले म दु:खित र घृणित छु।
16म खडा भए भने सिंहले शिकार गरेझैँ मेरो खेदो गर्नुहुन्छ।
मेरो क्षति गर्न तपाईंले अचम्मको कामसमेत गर्नुहुन्छ।
17तपाईंले सधैँ मेरो विरुद्धमा केही न केही नयाँ गवाही निकाल्नुहुन्छ।
ममाथि तपाईंको क्रोध बढिरहन्छ।
कुनै नयाँ हिसाबले मलाई चोट पुर्याउन तपाईं सधैँ उपाय गरिरहनुहुन्छ।
18हे परमेश्वर, किन मलाई जन्म दिनुभयो?
कसैले नदेखि म मर्नुपर्ने थियो।
19आमाको गर्भबाट सोझै चिहानमा पुग्नु
मेरो लागि कहिल्यै नजन्मनु जत्तिकै असल हुनेथियो।
20के मेरो छोटो आयु अब सकिन आँटेन र?
मलाई छोडिदिनुहोस्!
बाँकी रहेका केही दिन म सुखमा बिताउन पाऊँ।
21कारण म अब चाँडै जाँदै छु र फर्की आउनेछैन।
एउटा घोर अन्धकार र उदास भरेको देशमा,
22अँध्यारो, कालो छाया र गडबडीले भरिएको त्यो देश,
जहाँ उज्यालो नै अन्धकार छ,
त्यहीँ म जाँदै छु।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 10: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.