पहाडका घोरलहरू कहिले जन्मन्छन्, के तँ जान्दछस्? के मुडुली मृगले बच्चा जन्माएकी तैँले देखेको छस्? तिनका पेटमा कति महिना बच्चाहरू रहन्छन् वा कहिले तिनीहरूको जन्मने बेला हुन्छ, के तँ जान्दछस्? तिनीहरू कहिले व्यथा लागेर निहुरन्छन् र आफ्ना बच्चा ब्याउँछन्, के तँ जान्दछस्? ती बच्चाहरू खुल्ला मैदानमा चर्छन् र बलिया हुन्छन्, बाहिर जान्छन् र फेरि फर्केर आउँदैनन्। जङ्गली गधाहरूलाई कसले आफू खुसी चर्न स्वतन्त्रता दियो? तिनीहरूको बासस्थान मैले उजाड-भूमिमा बनाइदिएको छु, तिनीहरूलाई नुनका बेसीहरूमा गौंडा-गौंडा बनाउन दिइएको छ। तिनीहरूले सहरका होहल्ला घृणा गर्दछन्, कसैको अधीनमा बसी खटाएको काम तिनीहरूले गर्दैनन्। तिनीहरूका चरनहरू डाँडाहरूमा छन्, त्यहाँ तिनीहरूले खानलाई हरियो घाँस खोज्दछन्। के जङ्गली गोरुले तेरो काम गर्ला? के त्यो तेरो गोठमा रात बिताउन राजी होला? के तैँले त्यसलाई डोरीले बाँधेर जमिन जोत्न वा तेरो बारीमा दाँदे तान्न लाउन सक्छस्? के तँ त्यसको मुढे बलमा भरोसा गर्न सक्छस्? के त्यसले तेरो निम्ति ठूलो परिश्रम गरिदेला र? के त्यसले तेरा फसल बटुलिदेलान् र तेरा अन्नबाली खलाबाट जम्मा गरिदेला? शुतुरमुर्गका पखेटा कति चाँडो-चाँडो चल्छन्। तर त्यो सारसजस्तो उड्न सक्दैन। त्यसले बालुवामा फुल पार्छ र त्यस बालुवाले फुलहरूलाई गरम राख्दछ। कसैका खुट्टाले ती फुललाई कुल्चिदिन्छ वा जङ्गली जन्तुले फुटाइदिन्छ भन्ने कुरोको त्यसले वास्ता राख्दैन। ती बच्चाहरू आफ्ना होइनन् जस्तै गरी त्यसले व्यवहार गर्दछ र आफ्नो परिश्रम खेर गएकोमा केही वास्ता गर्दैन। किनकि बुद्धि बाँड्दा मैले त्यसलाई मूर्ख बनाएर केही समझ दिइनँ। तर दगुर्दा त्यसले कुनै पनि घोडा वा घोड-चढीलाई लज्जित तुल्याउँछ। अय्यूब, के तैँले घोडाहरूलाई त्यति बलियो बनाएको होस्? अनि तिनीहरूलाई त्यस्तो सुन्दर जगर दिएको होस्? के तैँले नै तिनीहरूलाई सलहझैँ उफ्रन लाउँछस्? वा नाक बजाउँदै मानिसहरूलाई तर्साउन लाउँछस्? बेसीमा जोशसित त्यसले टाप बजार्दै भूइँ खोस्रन्छ र पूरा बल लाएर दुश्मनसित दौडेर लड्न गइहाल्छ। त्यसले डर मान्दैन, तरवार देखेर भाग्दैन। त्यसको माथि काँडको ठोक्रा थर्ररर गरेर बज्दछ, त्यहाँ भाला र बर्छा चम्कन्छन्। जोशले काम्दै त्यो दगुरेर अघि बढ्छ, तुरही बज्दा त्यो चुप लागेर बस्न सक्दैन। तुरहीको आवाज सुनेर त्यसले नाक बजाउँछ, टाढैबाट त्यसले लडाइँको गन्ध पाउँछ र कप्तानको आज्ञा सुन्दछ। बाजले पखेटा चाल्न र दक्षिण दिशातिर पखेटा फैलाएर उड्न तँबाट सिकेको हो? के चिलले माथि उडेर पहाडमाथि गुँड लाउन तेरो आज्ञा पर्खन्छ? अग्ला-अग्ला चट्टानमा त्यसले आफ्नो गुँड र चट्टानको तीखो चुचुरोमा आफ्नो गढी बनाउँछ। त्यहाँबाट टाढा-टाढासम्म नियालेर हेरी त्यसले आफ्नो शिकार खोज्दछ। सिनुका चारैपट्टि चिलहरू जम्मा हुन्छन् र त्यसका बचेराहरूले रगत चुस्छन्।
अय्यूब 39 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 39:1-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू