YouVersion लोगो
खोज आइकन

अय्‍यूब 39

39
1पहाडका घोरलहरू कहिले जन्‍मन्‍छन्, के तँ जान्‍दछस्?
के मुडुली मृगले बच्‍चा जन्‍माएकी तैँले देखेको छस्?
2तिनका पेटमा कति महिना बच्‍चाहरू रहन्‍छन्
वा कहिले तिनीहरूको जन्‍मने बेला हुन्‍छ, के तँ जान्‍दछस्?
3तिनीहरू कहिले व्‍यथा लागेर निहुरन्‍छन्
र आफ्‍ना बच्‍चा ब्याउँछन्, के तँ जान्‍दछस्?
4ती बच्‍चाहरू खुल्‍ला मैदानमा चर्छन् र बलिया हुन्‍छन्,
बाहिर जान्‍छन् र फेरि फर्केर आउँदैनन्।
5जङ्गली गधाहरूलाई कसले आफू खुसी चर्न स्‍वतन्‍त्रता दियो?
6तिनीहरूको बासस्‍थान मैले उजाड-भूमिमा बनाइदिएको छु,
तिनीहरूलाई नुनका बेसीहरूमा गौंडा-गौंडा बनाउन दिइएको छ।
7तिनीहरूले सहरका होहल्‍ला घृणा गर्दछन्,
कसैको अधीनमा बसी खटाएको काम तिनीहरूले गर्दैनन्।
8तिनीहरूका चरनहरू डाँडाहरूमा छन्,
त्‍यहाँ तिनीहरूले खानलाई हरियो घाँस खोज्‍दछन्।
9के जङ्गली गोरुले तेरो काम गर्ला?
के त्‍यो तेरो गोठमा रात बिताउन राजी होला?
10के तैँले त्‍यसलाई डोरीले बाँधेर जमिन जोत्‍न
वा तेरो बारीमा दाँदे तान्‍न लाउन सक्‍छस्?
11के तँ त्‍यसको मुढे बलमा भरोसा गर्न सक्‍छस्?
के त्‍यसले तेरो निम्‍ति ठूलो परिश्रम गरिदेला र?
12के त्‍यसले तेरा फसल बटुलिदेलान्
र तेरा अन्‍नबाली खलाबाट जम्‍मा गरिदेला?
13शुतुरमुर्गका पखेटा कति चाँडो-चाँडो चल्‍छन्।
तर त्‍यो सारसजस्‍तो उड्‍न सक्‍दैन।
14त्‍यसले बालुवामा फुल पार्छ
र त्‍यस बालुवाले फुलहरूलाई गरम राख्‍दछ।
15कसैका खुट्टाले ती फुललाई कुल्‍चिदिन्‍छ
वा जङ्गली जन्‍तुले फुटाइदिन्‍छ
भन्‍ने कुरोको त्‍यसले वास्‍ता राख्‍दैन।
16ती बच्‍चाहरू आफ्‍ना होइनन् जस्‍तै गरी त्‍यसले व्‍यवहार गर्दछ
र आफ्‍नो परिश्रम खेर गएकोमा केही वास्‍ता गर्दैन।
17किनकि बुद्धि बाँड्दा मैले त्‍यसलाई मूर्ख बनाएर केही समझ दिइनँ।
18तर दगुर्दा त्‍यसले कुनै पनि घोडा वा घोड-चढीलाई लज्‍जित तुल्‍याउँछ।
19अय्‍यूब, के तैँले घोडाहरूलाई त्‍यति बलियो बनाएको होस्?
अनि तिनीहरूलाई त्‍यस्‍तो सुन्‍दर जगर दिएको होस्?
20के तैँले नै तिनीहरूलाई सलहझैँ उफ्रन लाउँछस्?
वा नाक बजाउँदै मानिसहरूलाई तर्साउन लाउँछस्?
21बेसीमा जोशसित त्‍यसले टाप बजार्दै भूइँ खोस्रन्‍छ
र पूरा बल लाएर दुश्‍मनसित
दौडेर लड्‍न गइहाल्‍छ।
22त्‍यसले डर मान्‍दैन,
तरवार देखेर भाग्‍दैन।
23त्‍यसको माथि काँडको ठोक्रा थर्ररर गरेर बज्‍दछ,
त्‍यहाँ भाला र बर्छा चम्‍कन्‍छन्।
24जोशले काम्‍दै त्‍यो दगुरेर अघि बढ्छ,
तुरही बज्‍दा त्‍यो चुप लागेर बस्‍न सक्‍दैन।
25तुरहीको आवाज सुनेर त्‍यसले नाक बजाउँछ,
टाढैबाट त्‍यसले लडाइँको गन्‍ध पाउँछ र कप्‍तानको आज्ञा सुन्‍दछ।
26बाजले पखेटा चाल्‍न
र दक्षिण दिशातिर पखेटा फैलाएर उड्‍न तँबाट सिकेको हो?
27के चिलले माथि उडेर पहाडमाथि गुँड लाउन
तेरो आज्ञा पर्खन्‍छ?
28अग्‍ला-अग्‍ला चट्टानमा त्‍यसले आफ्‍नो गुँड
र चट्टानको तीखो चुचुरोमा आफ्‍नो गढी बनाउँछ।
29त्‍यहाँबाट टाढा-टाढासम्‍म नियालेर हेरी
त्‍यसले आफ्‍नो शिकार खोज्‍दछ।
30 # मत्ती 24:28; लूका 17:37 सिनुका चारैपट्टि चिलहरू जम्‍मा हुन्‍छन्
र त्‍यसका बचेराहरूले रगत चुस्‍छन्।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 39: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्