YouVersion लोगो
खोज आइकन

अय्‍यूब 38

38
अय्‍यूबलाई परमप्रभुको जवाफ
1आँधीको बीचबाट परमप्रभुले अय्‍यूबलाई जवाफ दिनुभयो।
परमप्रभु भन्‍नुहुन्‍छ:
2मूर्ख कुरा गरेर मेरो योजनालाई अस्‍पष्‍ट पार्न खोज्‍ने तँ को होस्?
3अब मर्द भएर खडा हो,
म प्रश्‍न गर्छु, तँ जवाफ दे।
4मैले पृथ्‍वीको जग बसाल्‍दा के तँ त्‍यहाँ थिइस्?
तँ यति धेरै कुरा बुझ्‍छस् भने लौ मलाई भन्।
5पृथ्‍वीलाई यति ठूलो हुनुपर्छ भनी कसले ठहरायो?
कसले यसको नाप लियो?
के तँ जान्‍दछस्?
6पृथ्‍वीलाई केले थामेको छ?
त्‍यसको कुने-ढुङ्गा कसले बसाल्‍यो?
7त्‍यो दिनको मिरमिरे उज्‍यालोमा ताराहरूले गाए;
स्‍वर्गीय जनहरू आनन्‍दले चिच्‍च्‍याए।
8 # यर्मिया 5:22 पृथ्‍वीका गर्भबाट समुद्र फुटिनिस्‍कँदा रोक्‍नलाई
कसले ढोका बन्‍द गर्‍यो?
9हो, समुद्रलाई मैले बादलले ढाकें
र बाक्‍लो अँध्‍यारोले लपेटें।
10मैले समुद्रको साँध-सिमाना ठोकें
र त्‍यसका ढोका र आग्‍लाहरू लगाइदिएँ।
11मैले त्‍यसलाई भनें, “तँ यहाँसम्‍म आउन सक्‍छस्!
अरू अघि बढ्‍नेछैनस्,
तेरा शक्तिशाली छालहरू यहीँ रोक्‍नुपर्छ।”
12के तैँले आफ्‍नो जीवनमा कुनै पनि दिनलाई
सुरु हुने आज्ञा दिएको छस्?
13के तैँले बिहानीको मिरमिरे उज्‍यालोलाई आज्ञा गरेर
पृथ्‍वीलाई झकझकाई दुष्‍टहरूलाई तिनीहरू लुकेका ठाउँबाट निकाल्‍न लाएको छस्?
14हिलोमा परेका छाप देखिएझैँ वा लुगाका मुजा खोलिएझैँ
बिहानपख डाँडा र बेसीहरू देखा पर्दछन्।
15दिनको उज्‍यालो दुष्‍टहरूले सहन सक्‍दैनन्
किनभने उज्‍यालोले तिनीहरूका दुष्‍कर्ममा बाधा पार्दछ।
16के तँ समुद्रको गहिराइमा
त्‍यसका मूल फुटेका ठाउँसम्‍म पुगेको छस्?
17के तँलाई कसैले कहिल्‍यै मृत्‍युलोकको ढोका देखाएको छ?
के गहिरो अन्‍धकारका ढोकाहरू तैँले देखेको छस्?
18पृथ्‍वी कति ठूलो छ, के तँ जान्‍दछस्?
जान्‍दछस् भने मलाई भन्।
19उज्‍यालोको बासस्‍थान कहाँ छ?
अन्‍धकार कुन ठाउँबाट आउँछ?
20के तैँले तिनीहरूलाई तिनीहरूका आ-आफ्‍ना ठाउँमा
वा तिनका घरतिर जाने बाटो देखाइदिन सक्‍छस्?
21तैँले निश्‍चय सक्‍नेछस्
किनभने संसारको सृष्‍टि हुनुअघि नै तँ जन्‍मेको थिइस्
र तेरो उमेर धेरै भएको छ।
22के मैले हिउँ र असिना थुपारिराखेको भण्‍डारमा तँ पुगेको छस्?
23म ती हिउँ र असिनालाई विपत्तिका दिन
र लडाइँ र सङ्‌ग्रामको समयको लागि तयार राख्‍छु।
24जुन ठाउँबाट ज्‍योति फैलिएर निस्‍कन्‍छ
वा पूर्वीय बतास बहेर पृथ्‍वीमाथि उडेर जान्‍छ, के तँ जान्‍दछस्?
25महाबृष्‍टिको लागि कसले नहर खन्‍यो?
र बिजुली बज्रको लागि कसले मार्ग खोलिदियो?
26कोही नबस्‍ने भूमिमा कसले पानी बर्साउँछ?
27उजाड र रूखा जमिन हरियो-भरिलो बनाउन
कसले पानी लाउँछ?
28के वर्षा वा शीतको कुनै बुबा छ?
29हिउँ र तुषारोकी आमा को हो?
30हिउँ र तुषारोले पानी ढुङ्गाजस्‍तै कडा बनाउँछ,
समुद्रको सतहमा बरफ जमाउँछ।
31 # अय्‍यूब 9:9; आमोस 5:8 के तैँले मृगशिरा मण्‍डलका ताराहरूलाई एकसाथ बाँध्‍न सक्‍छस्?
वा किरकिटी ताराहरू फरक-फरक गरी छुट्याएर फुकाल्‍न सक्‍छस्?
32के तँ ताराहरूलाई तिनका समयअनुसार निकाल्‍न सक्‍छस्?
र उत्तर ध्रुवका ठूला-साना ताराहरूलाई तिनका मार्गमा हिँडाउन सक्‍छस्?
33आकाश शासन गर्ने प्रकृतिका नियमहरू के तैँले चालु गरेको होस्?
के ती नियमहरू तैँले पृथ्‍वीमा चलाउन सक्‍छस्?
34के तैँले सोर उचालेर बादललाई आज्ञा दिन सक्‍छस्?
र आफूमाथि ठूलो वर्षा ल्‍याउन सक्‍छस्?
35तैँले बिजुलीलाई चम्‍कने आज्ञा गरिस् भने
के त्‍यो “सेवक हाजिर छ” भन्‍दै तँकहाँ आइपुग्‍ला?
36कसले हृदयलाई बुद्धि दियो?
अथवा मनलाई समझदारी दियो?
37बादलको गन्‍ती लिने
र तिनलाई ढल्‍काएर झरी बर्साउने बुद्धि कोसित छ?
38जुन झरीले धुला र माटाका डल्‍ला जमाएर चाम्रो बनाउँछ।
39-40आ-आफ्‍नो ओडारमा लुकेर
वा गुफामा ढुकेर पर्खिबसेको बेलामा
के तैँले सिंहहरूको निम्‍ति शिकार
र भोकाएका जवान सिंहहरूको भोजन जगेडा गरिदिन्‍छस्?
41आहारका निम्‍ति कागका बचेराहरूले यताउति उड्दै परमेश्‍वरलाई पुकार्दा
कसले तिनलाई आहारा दिन्‍छ?

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 38: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्