अय्यूब 28
28
ज्ञानको प्रशंसा
1चाँदीका खानी हुन्छन्,
सुन खार्ने ठाउँहरू हुन्छन्।
2मानिसहरूले जमिनबाट फलाम खन्छन्,
काँचो धातु गालेर तामा निकाल्छन्।
3मानिसहरूले घनघोर अन्धकारमा पनि खोजी गर्छन्।
पृथ्वीको गर्भमा तलास गर्छन् र अँध्यारोमा चट्टान खन्छन्।
4मानिसहरू बस्ने वा तिनीहरू हिँड्ने बाटोदेखि टाढा
तिनीहरूले जमिनमा सुरुङ्ग खन्छन्
र त्यहाँ तिनीहरूले डोरीमा झुण्डिएर एकान्तमा काम गर्छन्।
5पृथ्वीबाट अन्न उब्जन्छ।
तर त्यसैभित्रचाहिँ आगो दन्केर सबै थोक उल्टो-पाल्टो हुन्छ।
6पृथ्वीका चट्टानमा नीलमणि हुन्छ,
त्यसको धुलोमा सुन हुन्छ।
7कुनै शिकारी पंक्षीले त्यहाँ जाने बाटो चिन्दैन,
बाज जस्तो पंक्षीको आँखाले पनि त्यो देख्दैन।
8कुनै सिंह वा डरलाग्दो जनावर
त्यस एकान्त बाटोमा कहिल्यै हिँड्दैन।
9मानिसहरूले कडाभन्दा कडा चट्टान काट्छन्।
पहाड-पर्वतलाई तिनका फेदैबाट पल्टाउँछन्।
10तिनीहरूले चट्टानमा सुरुङ्गमा खनेर लान्छन्
र बहुमूल्य पत्थरहरू फेला पार्दछन्।
11तिनीहरूले नदीमा मुहानहरू खोज्न खन्दछन्
र त्यहाँ लुकेका गाडधन निकाल्छन्।
12तर बुद्धिचाहिँ कहाँ पाइन्छ?
समझशक्तिको थलो कहाँ छ?
13मानिसहरूको माझमा बुद्धि पाइँदैन।
कसैले पनि यसको मोल जान्दैन।
14महासागर र समुद्रका गहिराइहरूले भन्छन्, “बुद्धि हामीसित छैन।”
15निखुर सुन र चाँदीले त्यो किन्न सकिंदैन।
त्यसको मोल चुकाउन सकिंदैन।
16निखुर सुन र बहुमूल्य मणिसित त्यसको मूल्य हुन सक्दैन।
17सुन, सुनका गहना वा स्फटिकभन्दा
त्यसको दाम धेरै बढ्ता छ।
18मूगा, बिल्लौर वा मानिकभन्दा बुद्धिको मूल्य धेरै बढता हुन्छ।
19बुद्धिको मोल असलभन्दा
असल सुन वा पुष्पराजसित पनि दाँज्न सकिंदैन।
20बुद्धिको मूल्य कहाँ छ?
समझशक्तिको थलो कुन हो?
21जिउँदो प्राणीले त्यो देख्न सक्दैन।
आकाशमा उड्ने पक्षीले पनि त्यो देख्दैन।
22मृत्यु र विनाशले पनि भन्दछन्,
“हामीले त त्यसको बारेमा हल्ला मात्र सुनेका छौं।”
23परमेश्वरले मात्र त्यहाँ पुग्ने बाटो चिन्नुहुन्छ।
उहाँले मात्र त्यसको थलो जान्नुहुन्छ
24किनभने उहाँले पृथ्वीको पल्लो छेउसम्म देख्नुहुन्छ।
आकाशमुनिका सबै थोक आफ्नो नजरमा राख्नुहुन्छ।
25जब परमेश्वरले बतासलाई शक्ति दिनुभयो
र समुद्रको सिमाना बाँधिदिनुभयो,
26जब उहाँले बृष्टि हुने स्थान
र बिजुली-बज्रको हिँड्ने मार्ग तोकिदिनुभयो,
27तब उहाँले बुद्धिलाई देख्नुभयो,
त्यसलाई जाँच्नुभयो र आफ्नो सहमति दिनुभयो।
28 #
भजनसंग्रह 111:10; हितोपदेश 1:7; 9:10 परमेश्वरले मानिसहरूलाई भन्नुभयो,
“परमप्रभुको भय मान्नु बुद्धि हो,
दुष्टताबाट अलग रहनु समझशक्ति हो।”
अहिले सेलेक्ट गरिएको:
अय्यूब 28: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.