YouVersion लोगो
खोज आइकन

अय्‍यूब 24

24
1आफूलाई चिन्‍नेहरूको निम्‍ति सर्वशक्तिमान्‌ले न्‍याय गरिदिनुहुन्‍न र?
परमेश्‍वरले किन न्‍यायको दिन तोकिदिनुहुन्‍न?
2मानिसहरूले साँध-सिमाना हटाएर आफ्‍नो जमिन बढाउँछन्
र अर्काको भेडा चोरेर आफ्‍नो बगालहरूसित मिसाउँछन्।
3तिनीहरूले टुहुरा-टुहुरीका गधाहरू लैजान्‍छन्
र विधवाको गोरु उसको ऋण तिरिनसकेसम्‍म बन्‍धकी राख्‍छन्।
4तिनीहरूले गरीबहरूको हक खोस्‍छन्, बञ्‍चित गर्छन्
र तिनीहरूलाई लुकेर बस्‍न कर लाउँछन्।
5गरीबहरूले जङ्गली गधाहरूझैँ सुख्‍खा उजाड-स्‍थानहरूमा खानेकुरा खोज्‍दछन्।
आफ्‍ना छोरा-छोरीको निम्‍ति तिनीहरूले कतै खानेकुरा पाउन सक्‍दैनन्।
6तिनीहरूले अर्काको खेतमा अन्‍न बटुल्‍छन्
र दुष्‍टका दाखबारीमा अङ्‌गुर टिप्‍छन्।
7तिनीहरूले केही नओडी रात काट्छन्,
जाडोमा शरीर ढाक्‍न तिनीहरूसित केही हुँदैन।
8पहाडहरूमा आएको वर्षाले तिनीहरू निथ्रुक्‍कै भिज्‍छन्
र ओत लिन चट्टानहरूनिर थुप्रन्‍छन्।
9बुबा नभएका बालकहरूलाई आमाको छातीबाट चुँडेर लगिन्‍छ।
गरीबका सन्‍तानहरूलाई ऋणमा बन्‍धकी राखिन्‍छ।
10लुगा नभएर तिनीहरू नाङ्गै हिँड्डुल गर्छन्
र भोकै अन्‍नका बिटा बटुल्‍छन्।
11तिनीहरूले जैतुनको तेल र दाख पेलेर रस निकाल्‍छन्,
तर आफैं भने तिर्खाले व्‍याकुल भएका हुन्‍छन्।
12सहरहरूमा मर्न लागेका र घाइते मानिसहरू कराउँछन्,
तर परमेश्‍वरले तिनीहरूका बिन्‍ती सुन्‍नुहुन्‍न।
13ज्‍योतिलाई इन्‍कार गर्ने मानिसहरू पनि छन्,
जसले ज्‍योतिको अर्थ बुझ्‍दैनन्
र ज्‍योतिको मार्गमा हिँड्दैनन्।
14झिसमिसे उज्‍यालोअघि नै हत्‍यारा उठेर दरिद्र र निर्धनलाई मार्न जान्‍छ
र रातीचाहिँ उसले चोरले झैँ लुट्दछ।
15व्‍यभिचारीले साँझको बाटो कुर्दछ र कसैले नचिनोस् भनेर
त्‍यसले आफ्‍नो मुख लुकाउँछ।
16राती ती दुष्‍टहरू घर फोरेर पस्‍दछन्,
तर दिउँसोचाहिँ लुक्‍छन् र उज्‍यालोमा देखा पर्दैनन्।
17दिनको उज्‍यालोदेखि तिनीहरू डराउँछन्।
तर रातको अन्‍धकारदेखि भने तिनीहरू डराउँदैनन्।
सोपर भन्‍दछन्:
18दुष्‍ट मानिसहरू त पानीमा लाग्‍ने कसिङ्गर हुन्,
तिनको जमिनलाई परमेश्‍वरले सराप दिनुहुन्‍छ,
तिनीहरू आफ्‍ना दाखबारीमा काम गर्न जान पाउँदैनन्।
19खडेरीले र गर्मीले हिँउ बिलाएर हराएझैँ
पापी मानिस जिउँदाहरूको देशबाट हराउँछन्।
20त्‍यसकी आमाले पनि त्‍यसलाई सम्‍झिदिनन्।
त्‍यसलाई किराले खान्‍छ, कसैले त्‍यसको नाम पनि याद राख्‍दैन।
ढलेको रूखझैँ त्‍यो नाश हुन्‍छ।
21त्‍यसले सन्‍तान नभएका बाँझी स्‍त्रीहरूलाई हानि गर्छ
र विधवाहरूलाई केही दया देखाउँदैन।
22परमेश्‍वरले आफ्‍नो सामर्थ्‍यमा शक्तिमान्‌हरूलाई नाश गर्नुहुन्‍छ,
परमेश्‍वरले काम गर्नुहुन्‍छ र दुष्‍टको मृत्‍यु हुन्‍छ।
23परमेश्‍वरले तिनीहरूलाई झूटो सुरक्षामा जिउन दिनुहुन्‍छ
र हरेक समय तिनीहरूको चालमा नजर राख्‍नुहुन्‍छ।
24केही समयको लागि दुष्‍ट सप्रन्‍छ,
तर त्‍यसपछि त्‍यो झारपात र काटेका अन्‍नको बालाझैँ ओइलिजान्‍छ।
25यसो होइन भनेर कसले इन्‍कार गर्न सक्‍छ त?
मेरा वचन सत्‍य होइनन् भनेर कसले प्रमाण दिन सक्‍छ?

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 24: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्