अय्यूब 23
23
अय्यूब भन्दछ:
1-2अब पनि म विरोध गर्दै परमेश्वरलाई दु:ख पोखाउँछु
म पीडामा छट्पटाउँछु।
3उहाँलाई कहाँ भेट्टाउन सकिन्छ, त्यो मैले जाने त हुन्थ्यो।
उहाँको बासस्थानमा पुग्न सके पनि हुन्थ्यो।
4म आफ्नो मुद्दा उहाँको सामुन्ने राख्नेथिएँ
र मेरो पक्षमा सबै कुरा उहाँलाई सुनाउनेथिएँ।
5तब उहाँले के जवाफ दिनुहुनेथियो
र के भन्नुहुनेथियो, सो म जान्नेथिएँ।
6के उहाँले आफ्नो सम्पूर्ण बल मेरो विरुद्धमा प्रयोग गर्नुहुन्छ र?
तर होइन, उहाँले मेरो बिन्ती सुन्नुहुनेछ।
7त्यहाँ धर्मी मानिसले आफ्नो बिन्ती गर्न सक्छ।
यसैकारण मेरो न्यायकर्ताबाट म सधैँको लागि छुटकारा पाउनेथिएँ।
8मैले उहाँलाई पूर्वमा खोजें, पश्चिममा खोजें,
तर कतै पनि मैले परमेश्वरलाई भेट्टाइनँ।
9उत्तर र दक्षिणमा परमेश्वरले आफ्नो काम गर्नुभएको छ।
तर मैले चाहिँ उहाँलाई कहीँ देख्न सकिनँ।
10तर उहाँले मेरो हरेक चाल जान्नुहुन्छ।
उहाँले मेरो जाँच लिनुहुँदा म निरन्तर सुनझैँ निखुर पाइनेछु।
11उहाँले रोजेको बाटोमा म विश्वासयोग्यसाथ हिँड्दछु।
म दायाँ-बायाँ तर्कंदिनँ।
12म सधैँ परमेश्वरको आज्ञापालन गर्दछु।
उहाँको वचन मैले मेरो हृदयमा साँचेर राखेको छु।
13उहाँ बद्लनुहुन्न, उहाँको निर्णय उल्टाउन सकिँदैन।
उहाँले जे रुचाउनुहुन्छ, त्यो गर्नुहुन्छ।
14मेरा निम्ति उहाँले जे विचार गर्नुभएको छ, त्यो पूरा गर्नुहुनेछ।
उहाँसित त्यस्ता अरू धेरै सङ्कल्पहरू छन्।
15यसकारण मलाई उहाँको सामुन्ने पर्दा डर लाग्छ।
उहाँको बारेमा सोच्दा म भयभीत हुन्छु।
16-17अनि अँध्यारोले मलाई अन्धो तुल्याएको छ
र पनि अन्धकारले त होइन,
तर सर्वशक्तिमान् परमेश्वरले पो मलाई भयभीत पार्नुभएको छ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 23: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.