YouVersion लोगो
खोज आइकन

अय्‍यूब 22

22
तेस्रो कुराकानी
(२२:१—२७:२३)
एलीपज भन्‍दछन्:
1-2 # अय्‍यूब 35:6-8 के कुनै मानिस परमेश्‍वरलाई काम लाग्‍छ?
त्‍यो मानिस खुबै बुद्धिमान् भए पनि के त्यसद्वारा परमेश्‍वरलाई केही लाभ हुन्‍छ?
3तपाईंको असल कामले परमेश्‍वरलाई केही लाभ हुन्‍छ र?
अथवा तपाईंको चालचलन असल भएकोले उहाँलाई के नाफा हुन्‍छ र?
4के तपाईंले परमेश्‍वरको भय मानेको हुनाले
उहाँले तपाईंलाई हप्‍काउनुभएको हो?
अनि तपाईंको विरुद्धमा आरोप लाउनुभएको हो?
5होइन, तपाईंले ठूलो पाप गरेको हुनाले त्‍यो भएको हो।
तपाईंका सबै दुष्‍कर्मको कारणले त्‍यो भएको हो।
6एक जना भाइले तपाईंबाट ऋण लिएको छ
र सो ऋण चुकाउन उसका लुगाफाटा बन्‍धक राख्‍ने आवश्‍यकता नभए पनि
तपाईंले ती सबै खोसेर उसलाई नाङ्गो पार्नुभयो।
7थाकेकाहरूलाई तपाईंले पिउने पानी दिनुहुन्‍न
र भोकाएकाहरूलाई भोजन दिन मान्‍नुहुन्‍न।
8जमिन अधिकार गर्न मात्र तपाईंले शक्ति र मान चलाउनुभयो।
9तपाईंले विधवाहरूलाई सहायता दिन इन्‍कार गर्नुभयो।
त्‍यति मात्र होइन, टुहुरा-टुहुरीहरूलाई पनि ठग्‍नुभयो।
10यसकारण अहिले तपाईंका चारैपट्टि खाडलहरू छन्
र एक्‍कासि तपाईं साह्रै डराउनुभएको छ।
11तपाईंको उज्‍यालो पनि अँध्‍यारो भएको छ र तपाईंले देख्‍न सक्‍नुहुन्‍न
र डरको भलले तपाईंलाई अत्‍याएको छ।
12के परमेश्‍वर स्‍वर्गको सबैभन्दा उच्‍च स्‍थानमा बास गर्नुहुन्‍न र?
सबै ताराहरू जत्तिकै उच्‍चमा भए पनि
उहाँले ती सबैलाई तलतिरै देख्‍नुहुन्‍न र?
13अझ पनि तपाईं प्रश्‍न गर्नुहुन्‍छ, “परमेश्‍वरले के जान्‍नुहुन्‍छ?
उहाँलाई त बादलले लुकाएको छ, उहाँले कसरी हाम्रो न्‍याय गर्नुहुन्‍छ?”
14तपाईं सोच्‍नुहुन्‍छ कि बाक्‍लो बादलले उहाँको दृष्‍टिलाई छेल्‍दछ
र आकाशको धुरीमा घुमफिर गर्दा उहाँले देख्‍न सक्‍नुहुन्‍न।
15के दुष्‍ट मानिसहरू हिँडेका पुरानो बाटोबाट
तपाईंले हिँड्‍ने सङ्कल्‍प गर्नुभएको छ?
16त्‍यस्‍ता दुष्‍टहरू त आफ्‍नो समयअघि नै
भलको मुखमा परेको घरझैँ बगाइलगिन्‍छन्।
17यी यस्‍ता मानिसहरू हुन्,
जसले परमेश्‍वरलाई इन्‍कार गर्छन्
र उहाँले हाम्रो केही बिगार गर्न सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छन्।
18तर तिनीहरूको फलिफाप गराउने त परमेश्‍वर नै हुनुहुन्‍थ्‍यो।
यी दुष्‍टहरूका विचार म बुझ्‍न सक्‍दिनँ।
19दुष्‍टहरूका दु:खका दिन देखेर धर्मीहरू आनन्‍द मान्‍छन्,
र निर्दोषहरू खुसीले हाँस्‍छन्।
20दुष्‍टका सारा धन-सम्‍पत्ति नाश भएर जान्‍छ,
तिनीहरूका बाँकी सम्‍पत्ति त आगोले भस्‍म हुन्‍छ।
21अय्‍यूब, अब परमेश्‍वरसित मिलाप गर्नुहोस्,
उहाँसँग शत्रुको व्‍यवहार नगर्नुहोस्।
तब उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ।
22उहाँले दिनुभएको शिक्षा ग्रहण गर्नुहोस्,
उहाँका वचन आफ्‍ना ह्रदयमा राख्‍नुहोस्।
23अँ, तपाईं परमेश्‍वरकहाँ नम्र भएर फर्कनुपर्छ।
आफ्‍नो घरको सबै दुष्‍ट्याइँ छोडिदिनुपर्छ
र तपाईं फेरि बनिनुहुनेछ।
24तपाईंको सुन फालिदिनुहोस्।
आफ्‍ना निखुर सुन सुखा खोल्‍साको
ढुङ्गाहरूबीच मिल्‍काइदिनुहोस्।
25तब सर्वशक्तिमान् परमेश्‍वर तपाईंको निम्‍ति सुन बन्‍नुहुनेछ,
कञ्‍चन चाँदीको रास बन्‍नुहुनेछ।
26तब तपाईं सधैँ परमेश्‍वरमा भर पर्नुहुनेछ
र उहाँमा नै आफ्‍नो आनन्‍दको मूल पाउनुहुनेछ।
27तपाईंले प्रार्थना गर्दा उहाँले सुन्‍नुहुनेछ
र तपाईंले आफ्‍नो भाकल पूरा गर्नुहुनेछ।
28तपाईं आफूले हात हालेका काममा सफल हुनुहुनेछ
र तपाईंको बाटोमा ज्‍योति चम्‍कनेछ।
29अहङ्कारीको घमण्‍ड परमेश्‍वरले झारिदिनुहुनेछ
र नम्र मानिसहरूलाई उहाँले बचाउनुहुनेछ।
30तपाईं निर्दोष हुनुहुन्‍छ र ठीक कुरो गर्नुहुन्‍छ भने
उहाँले तपाईंलाई बचाउनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 22: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्