अय्यूब 21
21
अय्यूब भन्दछन्:
1-2अब मेरो कुरा सुन्नुहोस्,
यतिमा नै मलाई सन्तोष छ।
3मलाई बोल्ने मौका दिनुहोस्
र त्यसपछि मेरो गिल्ला गरे हुन्छ।
4मेरो झगडा मरिजाने मानिसहरूसित छैन,
मेरो अधीर हुने असल कारण छ।
5मलाई हेर्नुहोस्, मेरो दशा देख्दा
के तपाईंहरू बिचल्ली भई चुप हुनुहुन्न?
6जब ममाथि परेका कुरा याद गर्दछु,
तब म व्याकुल हुँदछु र घरीघरी काम्दछु।
7परमेश्वरले किन दुष्टहरूलाई बाँचिरहन दिनुहुन्छ,
तिनीहरूको फलिफाप हुन्छ र बुढेसकालसम्म बाँच्दछन्?
8तिनीहरूले आफ्ना छोरा-छोरीहरू, नाति-नातिनीहरू जन्मेका
र ती हुर्केर ठूल्ठूला भएका देख्न पाउँछन्।
9परमेश्वरले तिनीहरूका घरहरूमा विपत्ति ल्याउनुहुन्न,
तिनीहरूले त्रासमा जिउनुपर्दैन।
10तिनीहरूका गाई-वस्तुहरूले बच्चा ब्याउँछन्।
तिनीहरूको गर्भ तुहुँदैन।
11तिनीहरूका बाल-बालिकाहरू भेडाका पाठाहरूझैँ खेल्छन् र दगुर्छन्।
12तिनीहरू खैंजडी, वीणा, बाँसुरी बजाएर गाउँछन् र नाच्छन्।
13सुखमा तिनीहरूले जीवन बिताउँछन् र शान्तिसित मर्छन्।
14दुष्टहरूले परमेश्वरलाई भन्छन्, “हामीलाई छोडिदिनुहोस्,
हाम्रो निम्ति तपाईंको इच्छा जे छ, त्यो बुझ्न चाहँदैनौं।
15सर्वशक्तिमान् भनेको को हो? किन उहाँको सेवा गर्नु?
उहाँलाई प्रार्थना गर्दा हामीलाई के लाभ हुन्छ?”
16तिनीहरूले आफ्नै बलले सफलता पाउँछन्।
तर तिनीहरूको विचार म मान्न सक्दिनँ।
17के दुष्टको बत्ती निभ्छ र?
के तिनीहरू केही नाश भए त?
के परमेश्वरले कहिल्यै दुष्टलाई आफ्नो क्रोधमा सजायँ दिनुभएको छ?
18के पराल हावाले उडाएझैँ र हुरीले धुलो उडाएझैँ
उहाँले तिनीहरूलाई उडाउनुभयो त?
19तपाईंहरू भन्नुहुन्छ कि बुबाको पापको निम्ति छोरालाई दण्ड दिनुहुन्छ।
होइन! परमेश्वरले पापीलाई नै दण्ड देऊन्।
उहाँले तिनीहरूका पापका निम्ति नै दण्ड दिनुभएको हो भनी तिनीहरूले बुझून्।
20पापीहरूले पापको दण्ड आफैंले नै भोगून्
र सर्वशक्तिमान् परमेश्वरको क्रोध चाखून्।
21जब मानिसहरूको जीवन टुङ्गिन्छ,
के तिनीहरू साँच्चै आफ्ना छोरा-छोरीहरूको सुखको वास्ता गर्छन्?
22के मानिसले परमेश्वरलाई सिकाउन सक्छ र?
उहाँले स्वर्गमा बास गर्नेहरूको पनि निसाफ गर्नुहुन्छ।
23-24कोही मानिसहरू मर्ने दिनसम्म स्वस्थ रहन्छन्।
तिनीहरूका शरीर हट्टा-कट्टा रहन्छन्।
तिनीहरू सुख-चैनसित मर्छन्।
25कसैले भने कहिल्यै सुख पाउँदैनन्।
तिनीहरू दु:खै-दु:खमा जिउँछन् र मर्छन्।
26यी दुवै थरी एकै प्रकारले मर्छन् र गाडिन्छन्
र किराहरूले भरिन्छन्।
27तपाईंको मनमा मप्रति कस्ता दुर्भावनाहरू छन्, म जान्दछु।
28तपाईंहरू भन्नुहुन्छ, “खोई, त्यो ठूलो मानिसको घर कहाँ छ?
ती दुष्टहरूको डेरा कुन हो?”
29के तपाईंहरूले यात्रीहरूलाई सोध्नुभएन?
तिनीहरूको वर्णन के तपाईंहरूले मानिलिनुहुन्न?
30विपत्तिको दिनमा दुष्ट नै जोगिन्छ।
क्रोधको दिनमा त्यो नै बाँच्छ।
31कसले त्यसको सामु त्यसलाई दोष दिने?
कसले त्यसको कामको निम्ति त्यसलाई बदला लिने?
32त्यसलाई चिहानमा लगिन्छ र त्यहाँ पहरा दिइन्छ।
33हजारौं मानिसहरू मलामी जान्छन्
र चिहानको माटो पनि त्यसको लाशमाथि हल्कासित बस्दछ।
34अनि तपाईंहरूचाहिँ मलाई व्यर्थका कुराले सान्त्वना दिन खोज्नुहुन्छ!
तपाईंहरूका जवाफ सबै झूटा हुन्!
अहिले सेलेक्ट गरिएको:
अय्यूब 21: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.