अय्यूब 19
19
अय्यूब भन्दछन्:
1-2तपाईंहरूले किन मलाई वचनले सताइरहनुहुन्छ?
3बारम्बार तपाईंहरूले मलाई अपमान गर्नुहुन्छ।
अनि त्यसरी गाली गर्न के तपाईंहरू लाज मान्नुहुन्न?
4मैले दोषै गरेको भए पनि
त्यसले तपाईंहरूलाई के हानि गर्यो?
5तपाईंहरू आफैंलाई मभन्दा असल ठान्नुहुन्छ
र मेरा कष्टहरू नै मेरो दोषको प्रमाण ठान्नुहुन्छ।
6परमेश्वरले मलाई यसो गर्नुभएको कुरा के तपाईंहरूले देख्नुहुन्न?
उहाँले मलाई पासो थाप्नुभएको हो।
7ममाथि अत्याचार भयो भनेर कराए पनि त्यो कसैले सुन्नेछैन।
मैले न्याय खोजेको बिन्ती केही लागेन।
8परमेश्वरले मेरो बाटो छेक्नुभएको छ र म उम्कन सक्दिनँ।
उहाँले मेरो बाटो अन्धकारमा लुकाइदिनुभएको छ।
9उहाँले मेरो सारा धन-सम्पत्ति खोस्नुभएको छ
र मेरो मानहानि गर्नुभएको छ।
10उहाँले चारैतिरबाट मलाई हिर्काउनुहुन्छ,
मेरो आशा उखेलेर फालिदिनुहुन्छ।
म ओइलिएर मरोस् भनी
उहाँले मलाई त्याग्नुभएको छ।
11उहाँ मसित रिसाएर आगोझैँ हुनुभएको छ
र उहाँले मलाई आफ्नो परम शत्रुझैँ ठान्नुहुन्छ।
12मेरो विरुद्धमा उहाँले आफ्नो फौज पठाउनुहुन्छ,
र मेरो पालको बाहिरपट्टि खाडल खनी तिनीहरू छाउनी हालेर बस्छन्।
13परमेश्वरले मेरा दाजुभाइहरूलाई मबाट टाढा बनाउनुभयो,
मलाई चिन्नेहरू अब नचिन्ने भए।
14मेरा कुटुम्बहरू र मेरा मित्रहरूले मलाई त्यागेका छन्।
15मेरो घरमा पाहुना भई बसेकाहरूले मलाई भुले।
मेरा दासीहरूले मसित एउटा बिरानो र विदेशीलाई झैँ व्यवहार गर्छन्।
16म आफ्नो चाकरलाई बोलाउँछु, त्यसले मलाई जवाफसम्म दिँदैन।
आफ्नै मुखले मद्दत माग्दा पनि त्यसले त्यो भनेअनुसार गर्दैन।
17मेरी स्वास्नीलाई मेरो सास नै गनाउँछ।
मेरा दाजुभाइहरू मेरो छेउ नै पर्दैनन्।
18साना छोरा-छोरीहरूले समेत मलाई हेला गर्छन्।
मलाई देख्दा तिनीहरूले गिल्ला गर्छन्।
19मेरा हितका साथीहरूले मसित घृणा गर्छन्।
मैले खुबै प्रेम गरेका साथीहरू मेरो विरुद्धमा छन्।
20म हाड र छाला भएको छु,
बलैले मेरो प्राण झुण्डिरहेको छ।
21ममाथि दया गर्नुहोस्!
तपाईंहरू मेरा मित्र हुनुहुन्छ!
परमेश्वरको हात ममाथि परेको छ।
22परमेश्वरले मेरो खेदो गर्नुभएझैँ
किन तपाईंहरूले पनि मेरो खेदो गर्नुहुन्छ?
के मलाई दु:ख दिन तपाईंहरूलाई पुगेन?
23कसैले मेरा कुरा सम्झेर
पुस्तकमा लेखिदिए त हुन्थ्यो!
24अथवा फलामका हतियारले सधैँ रहने गरी
ढुङ्गामा खोपिदिए त हुन्थ्यो।
25तर म जान्दछु कि मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ
र आखिरमा उहाँ नै मेरो पक्षमा खडा हुन आउनुहुनेछ।
26रोगले मेरो छाला खाइसके पनि
यही जीवनमा म परमेश्वरलाई देख्नेछु।
27म उहाँलाई आफ्नो आँखाले देख्नेछु।
अनि उहाँ बिरानो हुनुहुनेछैन।
मेरो साहस हरायो किनभने तपाईंहरू भन्नुहुन्छ,
28“हामी कसरी यिनलाई दु:ख दिन सक्छौं?”
मलाई पिराउन तपाईंहरूले कुनै न कुनै निहुँ खोजिरहनुहुन्छ।
29तर अब तरवारदेखि डराउनुहोस्, त्यो तरवार, जसले पाप गर्नेमाथि परमेश्वरको क्रोध ल्याउँछ।
यसैले तपाईंहरू जान्नुहुनेछ कि न्याय गर्ने एक जना हुनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 19: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.