YouVersion लोगो
खोज आइकन

अय्‍यूब 11

11
सोपर भन्‍दछ:
1-2के कसैले यी सबै अनर्थका कुराको जवाफ नदिने?
के धेरै कुरा गरेर मानिस ठीक साबित हुन्‍छ र?
3अय्‍यूब, के हामी तपाईंलाई जवाफ दिन सक्‍दैनौं?
के तपाईंको हाँसोउठ्दो कुराले हाम्रो मुख थुन्‍छ र?
4तपाईं आफ्‍ना कुरा सत्‍य हुन्
र म परमेश्‍वरको नजरमा पवित्र हुँ भनी भन्‍नुहुन्‍छ।
5परमेश्‍वरले तपाईंको कुराको जवाफ देऊन् भनी म कति चाहन्‍छु!
6उहाँले तपाईंलाई भन्‍नुहुनेथियो कि
बुद्धिका पनि धेरै रूप हुन्‍छन्
र धेरै कुराहरू मानिसका ज्ञानले बुझ्‍न नसक्‍ने हुन्‍छन्।
तपाईंले पाउनुपर्नेभन्दा थोरै नै दण्‍ड
परमेश्‍वरले तपाईंलाई दिँदै हुनुहुन्‍छ।
7के तपाईंले परमेश्‍वरको भेदको गहिराइ बुझ्‍न सक्‍नुहुन्‍छ?
र उहाँको रहस्‍यको सिमाना देख्‍नुभएको छ।
8त्‍यो त स्‍वर्गभन्दा अग्‍लो छ; तपाईंले के गर्न सक्‍नुहुन्‍छ?
त्‍यो त मृत-लोक भन्दा गहिरो छ; तपाईंले के जान्‍न सक्‍नुहुन्‍छ?
9परमेश्‍वरको महान्‌ता पृथ्‍वीभन्दा विस्‍तृत र समुद्रभन्दा चौडा छ।
10परमेश्‍वरले तपाईंलाई पक्रेर तपाईंमाथि मुद्दा चलाउनुहुन्‍छ भने
कसले उहाँलाई रोक्‍न सक्‍छ र?
11कुन-कुन मानिसहरू बेकामका छन्, परमेश्‍वर जान्‍नुहुन्‍छ।
तिनीहरूका दुष्‍कर्म देखेपछि उहाँले त्‍यसको लेखा राख्‍नुहुन्‍न र?
12जब जङ्गली गधाहरूले रतिएकै बछेडा जन्‍माउँछन्।
तब मूर्खहरू ज्ञानी हुन थाल्‍नेछन्।
13अय्‍यूब, आफ्‍नो हृदय ठीक गर्नुहोस्,
परमेश्‍वरतिर आफ्‍नो हात पसार्नुहोस्।
14आफ्‍नो घरबाट दुष्‍टता र अधर्म हटाउनुहोस्।
15तब दृढ र निर्भय भई संसारको सामना गर्नुहोस्।
16अनि तपाईंका सबै कष्‍टहरू तपाईंले भुल्‍नुहुनेछ
र पानीको भल बगेर गएजस्‍तै ती कुराको सम्‍झना तपाईंलाई हुनेछैन।
17तपाईंको जीवन मध्‍यदिनको घामभन्दा पनि चम्‍किलो हुनेछ।
अनि जीवनका अँध्‍यारा घडीहरू पनि बिहानीपखझैँ उज्‍यालो देखापर्नेछन्।
18तपाईंले पूर्ण आशा र सुरक्षा पाउनुहुनेछ।
परमेश्‍वरले तपाईंलाई रक्षा गर्नुहुनेछ र विश्राम दिनुहुनेछ।
19तपाईंलाई शत्रुको डर हुनेछैन।
धेरै मानिसहरूले तपाईंबाट निगाह खोज्‍नेछन्।
20तर दुष्‍टहरूले निराश भई चारैपट्टि आफ्‍ना नजर घुमाउनेछन्।
तिनीहरूले भाग्‍ने बाटो कतै देख्‍नेछैनन्।
तिनीहरूको आशा मृत्‍युमा मात्र हुनेछ।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 11: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्