यूहन्‍ना 9:1-7

यूहन्‍ना 9:1-7 सरल नेपाली

एक दिन हिँड्दै जानुहुँदा येशूले जन्‍मैदेखिको अन्‍धोलाई देख्‍नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरु, कसको पापले गर्दा यो मान्‍छे जन्‍मैदेखि अन्‍धो भएको हो? आमा-बुबाको पापले गर्दा हो कि उसको आफ्‍नै पापले गर्दा हो?” येशूले भन्‍नुभयो, “उसको आफ्‍नै पापले गर्दा पनि होइन र उसका आमा-बुबाको पापले गर्दा पनि होइन, तर परमेश्‍वरको काम उसमा देखियोस् भनेर नै ऊ अन्‍धो भएको हो। दिनको उज्‍यालो छँदा नै मलाई पठाउनुहुनेको काम हामीले गर्नुपर्छ। अँध्‍यारो भएपछि कसैले पनि काम गर्न सक्‍दैन। संसारमा रहुञ्‍जेल म नै संसारको उज्‍यालो हुँ।” यति कुरा भनिसकेर येशूले भूइँमा थुक्‍नुभयो अनि माटो मुछेर अन्‍धोका आँखामा लगाइदिनुभयो र भन्‍नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर मुख धोऊ।” (सिलोआमको अर्थ ‘पठाइएको’ हो।) त्‍यो मानिसले पोखरीमा गएर मुख धोयो अनि ऊ देख्‍ने भएर आयो।

यूहन्‍ना 9 पढ्नुहोस्