YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:46-54

यूहन्‍ना 4:46-54 सरल नेपाली

येशू फेरि गालीलको काना सहरमा जानुभयो। त्‍यही सहरमै उहाँले पानीलाई अङ्‌गुरको मद्य बनाउनुभएको थियो। येशू यो सहरमा हुँदा कफर्नहुम सहरमा बस्‍ने एक जना सरकारी कर्मचारीका छोरा बिरामी थिए। येशू यहूदिया क्षेत्रबाट गालीलमा आउनुभएको छ भन्‍ने कुरा सुनेर ती सरकारी कर्मचारी येशूकहाँ आए र येशूलाई “मेरो मर्न आँटेको छोरालाई आएर निको पारिदिनुहोस्,” भनेर बिन्‍ती चढाए। येशूले उनलाई भन्‍नुभयो, “अचम्‍मका काम र ठूला चिन्‍हहरू नदेखुञ्‍जेल तिमीहरूले कहिल्‍यै पनि विश्‍वास गर्दैनौ।” कर्मचारीले भने, “हजुर, दया गरी बालक मर्नुभन्दा अगाडि नै आइदिनुहोस्।” येशूले उनलाई भन्‍नुभयो, “तिम्रो छोरा बाँच्‍नेछ, जाऊ।” अनि ती कर्मचारीले येशूको वचनमा विश्‍वास गरे र फर्के। जाँदैगर्दा बाटोमा नै नोकरहरूले उनलाई भेटेर भने, “हजुरको छोरा निको हुनुभयो।” उनले नोकरहरूलाई “मेरो छोरा कुन घडीदेखि निको भयो?” भनेर सोधे। तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि उहाँलाई ज्‍वरोले छोड्यो।” तब ती कर्मचारीले येशूले ‘तिम्रो छोरा बाँच्‍नेछ’ भन्‍नुभएको घडीदेखि नै निको भएको रहेछ भनेर थाहा पाए। यसैले गर्दा उनले र उनको घरानाले येशूमा विश्‍वास गरे। योचाहिँ यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको दोस्रो अचम्‍मको चिन्‍ह हो।

यूहन्‍ना 4 पढ्नुहोस्