यो सुनेर पिलातसले येशूलाई क्रूसमा झुण्ड्याउन तिनीहरूको हातमा सुम्पिदिए। सिपाहीहरूले येशूको जिम्मा लिए। तिनीहरूले येशूलाई खप्परे भन्ने डाँडामा लगे। त्यो ठाउँलाई हिब्रू भाषामा गलगथा भनिन्छ। आफ्नो क्रूस आफैंले बोकेर येशू त्यहाँ जानुभयो। त्यस ठाउँमा पुगेर तिनीहरूले उहाँलाई काँटी ठोकेर क्रूसमा झुण्ड्याए अनि उहाँको दाहिने र देब्रेतिर अरू दुई जनालाई पनि भिन्नाभिन्नै क्रूसमा झुण्ड्याए। येशू तिनीहरूका बीचमा टाँगिनुभएको थियो। पिलातसले “नासरतका येशू यहूदीहरूका राजा” भन्ने दोष-पत्र लेखेर क्रूसमा टाँसिदिए। त्यस दोष-पत्रमा लेखिएको कुरा धेरै मानिसहरूले पढे किनभने त्यो ठाउँ सहरको नजिकै थियो अनि त्यो दोष-पत्र हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यसरी यहूदीको राजा भन्ने नलेखिदिनुहोस्, तर ‘त्यसले म यहूदीहरूका राजा हुँ भनेको थियो’ भनेर लेखिदिनुहोस्।” “भइहाल्यो, मैले जे लेखें, लेखें,” भनेर पिलातसले जवाफ दिए। सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि उहाँको लुगा लिएर चार भाग लगाए र आपसमा बाँडे। उहाँको लामो कुर्ताचाहिँ माथिदेखि तलसम्म सिउनैनपर्ने गरी बुनिएको थियो। यो देखेर तिनीहरूले आपसमा भने, “यसलाई चाहिँ नच्यातौं, तर यो कसको भागमा पर्दोरहेछ, चिट्ठा हालेर हेरौं।” “तिनीहरूले मेरा लुगा आपसमा बाँडे र मेरा पोशाकमा चाहिँ चिट्ठा हाले,” भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुन आयो। येशूको क्रूसको नजिकै उहाँकी आमासँग आमाकी बहिनी र क्लोपासकी पत्नी मरियम अनि मरियम मग्दलिनी उभिरहेका थिए। येशूले आफ्नी आमा र आफ्ना प्यारो चेलालाई नजिकै उभिरहेका देखेर आफ्नी आमालाई भन्नुभयो, “आमा हेर्नुहोस्, यिनी तपाईंका छोरा हुन्।” अनि ती चेलालाई भन्नुभयो, “हेर, उहाँ तिम्री आमा हुनुहुन्छ।” त्यस दिनदेखि त्यो चेलाले येशूकी आमा मरियमलाई आफ्नो घरमा लगे। अब त मेरो काम सिद्धियो भन्ने कुरा येशूले जान्नुभयो अनि धर्मशास्त्रमा लेखिएका कुरा एक-एक गरी पूरा होस् भनी उहाँले “मलाई तिर्खा लाग्यो!” भनेर भन्नुभयो त्यहाँ सिर्काले भरिएको एउटा भाँडो थियो। सिपाहीहरूले एउटा स्पन्ज हिसपको हाँगामा अड्काई येशूको मुखमा लगाइदिए। अलिकति सिर्का खाएर येशूले भन्नुभयो, “अब मेरो काम सिद्धियो!” त्यसपछि उहाँले मुन्टो निहुराएर प्राण त्याग्नुभयो।
यूहन्ना 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 19:16-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू