यी सबै कुरा हुन आउने बेलामा तिमीहरूले ‘हामीलाई सबै कुरा उहाँले अघिबाट नै भन्नुभएको थियो!’ भनी सम्झनेछौ। त्यसैले नै म तिमीहरूलाई यी कुराहरू भन्दै छु। “म अहिलेसम्म तिमीहरूसँग भएकोले तिमीहरूलाई यी कुराहरू भनेको थिइनँ। अहिलेचाहिँ म मलाई पठाउनुहुनेकहाँ जाँदै छु। तर ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ?’ भनेर तिमीहरू कसैले पनि सोध्दैनौ। मैले यी सबै कुरा भनेका हुनाले तिमीहरूको मन दु:ख र पीरले भरिएको छ। तर साँच्चै म तिमीहरूलाई भन्छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। उहाँ आउनुभएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्वरको न्यायबारे तिनीहरूले भुल गरिरहेका छन् भनी देखाउनुहुनेछ। ममा विश्वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ। उहाँले परमेश्वरको अगाडि केचाहिँ ठीक छ, त्यही देखाइदिनुहुन्छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्नेछैनौ। उहाँले तिनीहरूलाई परमेश्वरको न्याय के हो, देखाइदिनुहुनेछ किनभने यस संसारको राजा अघि नै दोषी ठहरिसकेको छ।” “मैले तिमीहरूलाई भन्नुपर्ने कुरा त धेरै थिए, तर अहिले योभन्दा बढी तिमीहरूले बुझ्न सक्दैनौ। तर सत्यका आत्मा आउनुभएपछि उहाँले नै सत्य के हो भन्ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्नुहुनेछ, त्यही नै तिमीहरूलाई भन्नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ। मैले भनेका कुराहरू तिमीहरूलाई बताइदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ। पितासँग भएका सबै कुरा मेरा हुन्। त्यसैकारण मैले ‘सत्यको आत्माले तिमीहरूकहाँ मेरा कुराहरू प्रकट गरिदिनुहुनेछ’ भनेको हुँ।”
यूहन्ना 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 16:4-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू