यूहन्ना 16:4-15
यूहन्ना 16:4-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ। “अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ। तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्, धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ। र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ। “मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ। जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो, त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। जे-जति पितासँग छन्, ती मेरा हुन्। यसैकारण मैले भनें, जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
यूहन्ना 16:4-15 नेपाली समकालीन संस्करण (NCV)
मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, कि जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ। अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ। तर म तिमीहरूलाई साँचो भन्दछु: तिमीहरूको भलाइको निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि उहाँ आउनुभएपछि, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ। पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्वास गर्दैनन्, धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ, र न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ। “मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्; तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ। जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ। जे-जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।
यूहन्ना 16:4-15 पवित्र बाइबल (NERV)
यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं। “मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ। अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’ तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने। तर म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन। “जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा। सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्। उसले मेरो धार्मिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ। अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ। “मलाई अझ तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ। तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ। सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासँग छन् ती सबै मेरा हुन्। त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।
यूहन्ना 16:4-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी सबै कुरा हुन आउने बेलामा तिमीहरूले ‘हामीलाई सबै कुरा उहाँले अघिबाट नै भन्नुभएको थियो!’ भनी सम्झनेछौ। त्यसैले नै म तिमीहरूलाई यी कुराहरू भन्दै छु। “म अहिलेसम्म तिमीहरूसँग भएकोले तिमीहरूलाई यी कुराहरू भनेको थिइनँ। अहिलेचाहिँ म मलाई पठाउनुहुनेकहाँ जाँदै छु। तर ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ?’ भनेर तिमीहरू कसैले पनि सोध्दैनौ। मैले यी सबै कुरा भनेका हुनाले तिमीहरूको मन दु:ख र पीरले भरिएको छ। तर साँच्चै म तिमीहरूलाई भन्छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। उहाँ आउनुभएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्वरको न्यायबारे तिनीहरूले भुल गरिरहेका छन् भनी देखाउनुहुनेछ। ममा विश्वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ। उहाँले परमेश्वरको अगाडि केचाहिँ ठीक छ, त्यही देखाइदिनुहुन्छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्नेछैनौ। उहाँले तिनीहरूलाई परमेश्वरको न्याय के हो, देखाइदिनुहुनेछ किनभने यस संसारको राजा अघि नै दोषी ठहरिसकेको छ।” “मैले तिमीहरूलाई भन्नुपर्ने कुरा त धेरै थिए, तर अहिले योभन्दा बढी तिमीहरूले बुझ्न सक्दैनौ। तर सत्यका आत्मा आउनुभएपछि उहाँले नै सत्य के हो भन्ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्नुहुनेछ, त्यही नै तिमीहरूलाई भन्नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ। मैले भनेका कुराहरू तिमीहरूलाई बताइदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ। पितासँग भएका सबै कुरा मेरा हुन्। त्यसैकारण मैले ‘सत्यको आत्माले तिमीहरूकहाँ मेरा कुराहरू प्रकट गरिदिनुहुनेछ’ भनेको हुँ।”