त्यही वर्षको सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज-घरानाका व्यक्ति र राजाका मूल अफिसरहरूमध्ये एक थिए, गदल्याहसित भेट गर्न अरू दश जना मानिसहरू साथमा लिई मिस्पामा आए। तिनीहरू सबै एकसाथ भोजमा बसेका बेलामा इश्माएल र तिनीसित आएका दश जना मानिसहरूले तरवार निकालेर गदल्याहलाई मारे। इश्माएलले गदल्याहसित मिस्पामा बसेका इस्राएलीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मारे। भोलिपल्ट गदल्याहको हत्या भएको कसैले थाहै नपाई शकेम, शीलो र सामरियाबाट असी जना मानिसहरू आइपुगे। तिनीहरूले दाह्री खौरेका, लुगा च्यातेका र आफ्नै शरीरमा गहिरा-गहिरा चोट पारेका थिए। तिनीहरूले मन्दिरमा चढाउन अन्न-बलि र धूप ल्याएका थिए। तिनीहरूलाई भेट्न नतन्याहका छेरा इश्माएल रुँदै मिस्पाबाट निस्के। तिनीहरूका छेउमा पुगेर तिनले भने, “कृपा गरी अहीकामका छोरा गदल्याहकहाँ आओ।” तिनीहरू सहरभित्र पस्नेबित्तिकै इश्माएल र तिनका मानिसहरूले ती मानिसहरूलाई मारे र तिनीहरूका लाश इनारमा फ्याँकिदिए। तर त्यस दलमा दश जना मानिसहरू थिए, जसले इश्माएललाई भने, “कृपा गरी हामीलाई नमार्नुहोस्! हामीसित खेतमा लुकाइराखेका गहुँ, जौ, जैतुनको तेल र मह छ।” यसकारण तिनले तिनीहरूलाई मारेनन्। इश्माएलले मारेका मानिसहरूका लाश जुन इनारमा फालेका थिए, त्यो कुवा खुब ठूलो थियो। त्यो कुवा आसा राजाले इस्राएलका राजा बाशाले आक्रमण गर्दा खनाएका थिए। इश्माएलले मानिसहरूका लाशले त्यो कुवा भरिदिए। त्यसपछि तिनले राजाका छोरीहरू र सेनापति नबूजरदानले गदल्याहका जिम्मामा दिइराखेका मिस्पामा भएका अरू मानिसहरूलाई कैद गरे। तिनीहरूलाई कैदी बनाई इश्माएल अम्मोनका ठाउँतिर लागे। इश्माएलको अपराधबारे योहानान र तिनीहरूसित भएका फौजका कप्तानहरूले सुने। यसकारण आफ्ना मानिसहरू साथमा लिई तिनीहरूले तिनलाई पछ्याए र गिबोनको ठूलो पोखरीनिर भेट्टाए। जब इश्माएलका कैदीहरूले योहानान र तिनीसित भएका फौजका कप्तानहरूलाई देखे, तिनीहरू खुसी भए अनि दौडेर फर्किआए। तर इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट भागे र अम्मोनको देशमा गए। अनि गदल्याहको हत्यापछि मिस्पाबाट कैद गरी इश्माएलले लगेका सिपाहीहरू, स्त्रीहरू र केटाकेटीहरू र नपुंसकहरू सबैका जिम्मा योहानान र उनीसित भएका फौजका कप्तानहरूले लिए। बेबिलोनका राजाले त्यस देशमाथि बडाहाकिम खटाएका गदल्याहलाई इश्माएलले मारेका हुनाले तिनीहरू बेबिलोनीहरूसित डराएका थिए। यसकारण बेबिलोनीहरूबाट भाग्न तिनीहरू मिश्रतिर लागे। बाटोमा तिनीहरू बेथलेहेमछेउ किमहाममा रोकिए।
यर्मिया 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 41:1-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू