यर्मिया 41:1-18
यर्मिया 41:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय रगत भएको र राजाका अधिकृतहरूमध्येको एक थियो, दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आयो। जब तिनीहरू सबै एकैसाथ त्यहाँ खाइरहेका थिए, तब नतन्याहको छोरो इश्माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले मारे। इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्यो। गदल्याह मारिएको कुरा कसैले थाहा पाउनु अघि भोलिपल्ट शकेम, शीलो र सामरियाबाट दाह्री काटेका, लुगा च्यातेका र शरीर चिरै-चिरा काटेका असी जना मानिसहरू परमप्रभुको घरमा अन्नबलि र धूप चढ़ाउन आए। नतन्याहको छोरो इश्माएल मिस्पाबाट रुँदै-रुँदै तिनीहरूलाई भेट्न निस्क्यो। तिनीहरूलाई भेटेर त्यसले भन्यो, “अहीकामको छोरो गदल्याहकहाँ आओ।” जब तिनीहरू सहरभित्र आए तब नतन्याहको छोरो इश्माएल र त्यसको साथमा भएका मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूका लाश एउटा इनारमा फालिदिए। तर तिनीहरूमध्येका दश जना मानिसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीसित एउटा खेतमा लुकाइराखेका गहूँ, जौ, तेल र मह छन्।” यसैले त्यसले तिनीहरूलाई छोड़िदियो र अरूहरूसित तिनीहरूलाई मारेन। त्यो इनार, जहाँ इश्माएलले गदल्याह र अरू मानिसहरूलाई मारेर फालिदिएको थियो, त्यो त्यही इनार थियो, जो आसा राजाले इस्राएलका राजा बाशाको डरले गर्दा रक्षाको निम्ति खनाएका थिए। नतन्याहको छोरो इश्माएलले आफूले मारेका मानिसहरूले त्यो भरिदियो। त्यसपछि इश्माएलले मिस्पामा बाँकी रहेका जम्मै मानिसहरूलाई— राजाका छोरीहरू र अरू मानिसहरू, जुनलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए, ती सबैलाई त्यसले कैद गर्यो। यी कैदीहरूलाई लिएर सिमाना पारि अम्मोनीहरूकहाँ जानलाई त्यो हिँड़्यो। जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्याहको छोरो इश्माएलले गरेका सबै अपराधका विषयमा सुने, तब तिनीहरू आफ्ना सबै मानिसहरूलाई लिएर नतन्याहको छोरो इश्माएलसित लड़ाइँ गर्नलाई हिँड़े। तिनीहरूले त्यसलाई गिबोनको ठूलो दहनेर भेट्टाए। जब इश्माएलसित भएका ती मानिसहरूले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरूलाई देखे तब तिनीहरू रमाए। इश्माएलले मिस्पाबाट लगेका सबै कैदीहरू कारेहका छोरा योहानानकहाँ फर्केर गए। तर नतन्याहको छोरो इश्माएल आफ्ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्केर अम्मोनीहरूकहाँ भागेर गयो। तब अहीकामका छोरा गदल्याहलाई मारेपछि नतन्याहको छोरो इश्माएलले गिबोनबाट ल्याएका बाँचेकाहरूलाई— सिपाहीहरू, स्त्रीहरू, केटाकेटीहरू र महलका अधिकृतहरूलाई कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले लगेर गए। तिनीहरू बेबिलोनीहरूदेखि उम्कन मिश्रमा जाने विचार गरेर बेथलेहेमनेरको गेरूथ-किम्हाममा वास बसे। तिनीहरू बेबिलोनीहरूसित डराएका थिए, किनभने बेबिलोनका राजाले देशको लागि नियुक्त गरेका राज्यपाल अहीकामका छोरा गदल्याहलाई नतन्याहको छोरो इश्माएलले मारेको थियो।
यर्मिया 41:1-18 पवित्र बाइबल (NERV)
सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे। जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए। इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे। गदल्याहको हत्या भए पछि त्यही दिन। कसैले यस विषयमा चाल पाउन अघि नै आफै दाह्री काटेका अनि लुगाहरू च्यातेका अनि तिनीहरू आफै काटिएकाहरू अन्नबलिहरू, अनि धूपहरू लिएर परमप्रभुको मन्दिरमा पूजा गर्न 80 जना मानिसहरू मिस्पामा आए। तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन। इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने। तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए। तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्। (नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिन्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इस्राएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।) इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए। कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याईँको बारेमा सुने। यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लड्न लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दह नजिकै भेटे। कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए। यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए। तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे। यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए। योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।
यर्मिया 41:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यही वर्षको सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज-घरानाका व्यक्ति र राजाका मूल अफिसरहरूमध्ये एक थिए, गदल्याहसित भेट गर्न अरू दश जना मानिसहरू साथमा लिई मिस्पामा आए। तिनीहरू सबै एकसाथ भोजमा बसेका बेलामा इश्माएल र तिनीसित आएका दश जना मानिसहरूले तरवार निकालेर गदल्याहलाई मारे। इश्माएलले गदल्याहसित मिस्पामा बसेका इस्राएलीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मारे। भोलिपल्ट गदल्याहको हत्या भएको कसैले थाहै नपाई शकेम, शीलो र सामरियाबाट असी जना मानिसहरू आइपुगे। तिनीहरूले दाह्री खौरेका, लुगा च्यातेका र आफ्नै शरीरमा गहिरा-गहिरा चोट पारेका थिए। तिनीहरूले मन्दिरमा चढाउन अन्न-बलि र धूप ल्याएका थिए। तिनीहरूलाई भेट्न नतन्याहका छेरा इश्माएल रुँदै मिस्पाबाट निस्के। तिनीहरूका छेउमा पुगेर तिनले भने, “कृपा गरी अहीकामका छोरा गदल्याहकहाँ आओ।” तिनीहरू सहरभित्र पस्नेबित्तिकै इश्माएल र तिनका मानिसहरूले ती मानिसहरूलाई मारे र तिनीहरूका लाश इनारमा फ्याँकिदिए। तर त्यस दलमा दश जना मानिसहरू थिए, जसले इश्माएललाई भने, “कृपा गरी हामीलाई नमार्नुहोस्! हामीसित खेतमा लुकाइराखेका गहुँ, जौ, जैतुनको तेल र मह छ।” यसकारण तिनले तिनीहरूलाई मारेनन्। इश्माएलले मारेका मानिसहरूका लाश जुन इनारमा फालेका थिए, त्यो कुवा खुब ठूलो थियो। त्यो कुवा आसा राजाले इस्राएलका राजा बाशाले आक्रमण गर्दा खनाएका थिए। इश्माएलले मानिसहरूका लाशले त्यो कुवा भरिदिए। त्यसपछि तिनले राजाका छोरीहरू र सेनापति नबूजरदानले गदल्याहका जिम्मामा दिइराखेका मिस्पामा भएका अरू मानिसहरूलाई कैद गरे। तिनीहरूलाई कैदी बनाई इश्माएल अम्मोनका ठाउँतिर लागे। इश्माएलको अपराधबारे योहानान र तिनीहरूसित भएका फौजका कप्तानहरूले सुने। यसकारण आफ्ना मानिसहरू साथमा लिई तिनीहरूले तिनलाई पछ्याए र गिबोनको ठूलो पोखरीनिर भेट्टाए। जब इश्माएलका कैदीहरूले योहानान र तिनीसित भएका फौजका कप्तानहरूलाई देखे, तिनीहरू खुसी भए अनि दौडेर फर्किआए। तर इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट भागे र अम्मोनको देशमा गए। अनि गदल्याहको हत्यापछि मिस्पाबाट कैद गरी इश्माएलले लगेका सिपाहीहरू, स्त्रीहरू र केटाकेटीहरू र नपुंसकहरू सबैका जिम्मा योहानान र उनीसित भएका फौजका कप्तानहरूले लिए। बेबिलोनका राजाले त्यस देशमाथि बडाहाकिम खटाएका गदल्याहलाई इश्माएलले मारेका हुनाले तिनीहरू बेबिलोनीहरूसित डराएका थिए। यसकारण बेबिलोनीहरूबाट भाग्न तिनीहरू मिश्रतिर लागे। बाटोमा तिनीहरू बेथलेहेमछेउ किमहाममा रोकिए।