किन-बेचको तमसुक बारूकलाई दिएपछि मैले यसरी प्रार्थना गरें, “सार्वभौम परमप्रभु, तपाईंले आफ्ना महान् शक्ति र प्रतापले स्वर्ग र पृथ्वी बनाउनुभयो। केही कुरो तपाईंको निम्ति कठिन छैन। तपाईंले हजारौंलाई अटुट प्रेम देखाउनुभएको छ तर तपाईंले मानिसहरूलाई तिनीहरूका आमा-बुबाका पापको निम्ति दण्ड पनि दिनुहुन्छ। तपाईं महान् र शक्तिशाली परमेश्वर हुनुहुन्छ, तपाईं सर्वशक्तिमान् परमप्रभु हुनुहुन्छ। तपाईंले बुद्धिका उपायहरू रच्नुहुन्छ र पराक्रमी काम गर्नुहुन्छ। मानिसहरूले गरेका सबै थोक तपाईंले देख्नुहुन्छ र तिनीहरूका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहुन्छ। धेरै वर्षअघि तपाईंले मिश्रमा उदेक र आश्चर्यका कामहरू गर्नुभयो। आजसम्म तपाईंले इस्राएल र अरू सबै राज्यका बीचमा उदेकका कामहरू गरिरहनुभएको छ र अब तपाईंलाई सबै ठाउँमा चिन्दछन्। उदेक र आश्चर्यका कामद्वारा हाम्रा शत्रुहरूलाई भयभीत पार्दै तपाईंले आफ्ना प्रजा इस्राएललाई आफ्ना शक्ति र बाहुबलले मिश्रबाट निकाली ल्याउनुभयो। तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाअनुसार यो धनी र मलिलो भूमि तिनीहरूलाई दिनुभयो। तर जब यस देशमा आएर तिनीहरूले यसलाई आफ्नो अधीन गरे, तब तिनीहरूले तपाईंका आज्ञा मानेनन् अथवा तपाईंको शिक्षाअनुसार आफ्नो जीवन बिताएनन्। तपाईंले आज्ञा गर्नुभएको एउटै कुरो पनि तिनीहरूले गरेनन्। यसैले यी सबै विनाश तपाईंले तिनीहरूमाथि ल्याउनुभयो। “हेर्नुहोस्, सहर कब्जा गर्न बेबिलोनीहरूले त्यसका चारैपट्टि घेरा हालेका छन् र त्यसमाथि हमला गरिरहेका छन्। लडाइँ, अनिकाल र रुढीको कारण सहर तिनीहरूका हातमा पर्नेछ। तपाईंले भन्नुभएका सबै कुरा पूरा हुँदैआएको तपाईंले देख्दै हुनुहुन्छ। तापनि हे सार्वभौम परमप्रभु, यो सहर शत्रुका हातमा जाने बेलामा नै तपाईंले मलाई साक्षीहरूको सामुन्ने त्यो खेत किन्ने आज्ञा दिनुभयो।”
यर्मिया 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 32:16-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू