YouVersion लोगो
खोज आइकन

यर्मिया 32:16-25

यर्मिया 32:16-25 NNRV

“नेरियाहको छोरो बारूकलाई त्‍यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें: “हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्‍नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन। हजारौँ हजारलाई तपाईं आफ्‍नो प्रेम देखाउनुहुन्‍छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्‍छ। हे महान्‌ र शक्तिशाली परमेश्‍वर, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो, तपाईंका अभिप्राय महान्‌ र तपाईंका कामहरू शक्तिशाली छन्‌। मानिसहरूका सबै चाल तपाईंको दृष्‍टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्‍छ। मिश्रदेशमा आश्‍चर्यचकित चिन्‍हहरू र आश्‍चर्य कामहरू तपाईंले देखाउनुभयो, अनि आजको दिनसम्‍म इस्राएलीहरू र सारा मानिस-जातिका बीचमा ती प्रकट गर्दैआउनुभएको छ र ख्‍याति प्राप्‍त गर्नुभएको छ, जो आजसम्‍म तपाईंकै छ। तपाईंले नै आफ्‍नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्‍याउनुभयो। तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनेर शपथ खानुभएको यो देश, जो दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो। तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्‍यवस्‍थाअनुसार तिनीहरू चलेनन्‌। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्‌। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्‍याउनुभयो। “हेर्नुहोस्, यो सहर लिनलाई घेरा-मचान बनाइएको छ। तरवार, अनिकाल र रूढ़ीको कारण सहरलाई आक्रमण गर्ने बेबिलोनीहरूका हातमा त्‍यो सुम्‍पिइनेछ। तपाईंले जे भन्‍नुभएको थियो, त्‍यो पूरा भयो, जुन कुरा तपाईं देख्‍दैहुनुहुन्‍छ। अनि हे परमप्रभु परमेश्‍वर, यो सहर बेबिलोनीहरूका हातमा सुम्‍पिने भए तापनि ‘चाँदी दिएर साक्षीहरू डाकेर खेत किन्‌ र यो लेनदेन राख,’ भनी तपाईंले मलाई भन्‍नुहुन्‍छ।”