YouVersion लोगो
खोज आइकन

न्यायकर्ता 7:8-25

न्यायकर्ता 7:8-25 सरल नेपाली

गिदोनले ती तीन सय जना छोडी बाँकी सबैलाई घर जान दिए। ती तीन सय जनाले सारा खानेकुरा र तुरहीहरू राखे। मिद्यानीहरूको छाउनी तल बेसीमा थियो। त्‍यस रात परमप्रभुले गिदोनलाई आज्ञा गर्नुभयो, “उठ् र मिद्यानीहरूको छाउनीमाथि आक्रमण गर्‌। म तँलाई विजय दिनेछु। तर आक्रमण गर्न डर लाग्‍छ भने आफ्‍नो चाकर पूराहसँग तिनीहरूको छाउनीमा जा। तिनीहरूले के भन्‍दै छन्, तैँले सुन्‍नेछस् र तँलाई तिनीहरूमाथि आक्रमण गर्न साहस हुनेछ।” र गिदोन र उनको चाकर पूराह तल शत्रुहरूको छाउनीछेउ गए। बेसीका चारैतिर मिद्यानी, अमालेकी र पूर्वका अरू जातिहरू सलहका बथानसरि बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवासरि थिए। गिदोन त्‍यहाँ आइपुग्‍दा एक जना मानिसले साथीलाई एउटा सपना भन्‍दैगरेको सुन्‍यो। उसले भन्‍दै थियो, “मैले सपनामा देखें कि जौको एउटा रोटी लड्दै आएर हाम्रो पालमा लाग्‍यो र पाल भत्‍केर भूइँमा ढल्‍यो।” साथीचाहिँले भन्‍यो, “यो त त्‍यो इस्राएली योआशको छोरा गिदोनको तरवार हो। यसको अर्को अर्थ हुनै सक्‍दैन। परमेश्‍वरले मिद्यानीहरू र हाम्रा सारा सेनालाई उसको हातमा पारिदिनुभएको छ।” त्‍यस मानिसको सपना र त्‍यसको अर्थ सुनेपछि गिदोनले घुँडा टेकी परमेश्‍वरलाई दण्‍डवत् गरे। त्‍यसपछि इस्राएलीहरूको छाउनीमा फर्की आएर उनले भने, “उठ, परमेश्‍वरले तिमीहरूलाई मिद्यानीहरूका सेनामाथि विजय दिनुभएको छ!” उनले आफ्‍ना तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। हरेक मानिसलाई उनले एउटा तुरही र एउटा भित्रपट्टि राँको बलेको गाग्रो दिए, र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्‍छु, मलाई हेर्नू र म जसो गर्छु, त्‍यसै गर्नू। मेरा दल र मैले तुरही फुक्‍दा तिमीहरूले पनि छाउनीको चारैतिर आफ्‍ना तुरही फुक्‍नू र कराएर यसो भन्‍नू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति!” गिदोन र उनीसँग भएका एक सय मानिसहरू मध्यरात हुनभन्दा केही अघि छाउनीको छेउ आइपुगे। शत्रुका पहराहरू भर्खरै मात्र साटिएका थिए। तिनीहरूले तुरही फुके र आफूले बोकेको गाग्रो फुटाए। अनि अरू दुई दलले पनि त्‍यसै गरे। सबैले आफ्‍ना देब्रे हातमा राँको समाते, दायाँ हातमा तुरही लिए र कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार!” प्रत्‍येक मानिस आफ्‍नो ठाउँमा छाउनीको चारैतिर उभिरह्यो अनि शत्रुका सारा सेना चिच्‍च्‍याउँदै भागे। गिदोनका मानिसहरूले तुरही फुकेको बेलामा परमप्रभुले शत्रुलाई आपसमा एक-अर्कालाई तरवारले हानाहान गर्न लाउनुभयो। तिनीहरू सरेरातर्फ भागे र बेथ-शित्ता र तब्‍बातछेउको हाबिल-महोला सहरसम्‍म पुगे। तब नप्‍ताली, आशेर कुल र मनश्‍शे कुलका दुवैपट्टिका मानिसहरूलाई बोलाउन पठाइयो। तिनीहरू आएर मिद्यानीहरूलाई खेदे। एफ्राइम पहाडी देशभरि गिदोनले मानिसहरू पठाएर खबर गरे, “तल आएर मिद्यानीहरूसँग लडाइँ गर। यर्दन नदी र बेथ-बरासम्‍म खोलाहरू हातमा लेओ र मिद्यानीहरू पार गरी भाग्‍न नसकून्।” एफ्राइमहरू एकसाथ आए र यर्दन नदी र बेथ-बरासम्‍म खोलाहरू हात पारे। तिनीहरूले ओरेब र जएब नाम गरेका मिद्यानी अगुवाहरूलाई पक्रे र ओरेबलाई ओरेबको चट्टानमा र जएबलाई जएबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेदि नै रहे अनि ओरेब र जएबका शिर गिदोनकहाँ ल्‍याए। गिदोन त्‍यस बेला यर्दनको पूर्वपट्टि थिए।

न्यायकर्ता 7 पढ्नुहोस्