न्यायकर्ता 18
18
मीका र दान वंश
1त्यस बेला इस्राएलमा कुनै राजा थिएन। ती दिनमा दान वंशले आफू बस्ने इलाका खोजी गर्दै थिए, कारण इस्राएली कुलहरूका बीचमा तिनीहरूले आफ्ना लागि कुनै ठाउँ पाएका थिएनन्। 2यसकारण दानवंशीहरूले आफ्ना बीचमा सबै परिवारहरूका माझबाट पाँच जना योग्य मानिसहरू चुने। दानवंशीहरूले तिनीहरूलाई जमिन खोज्न र त्यसको भेद लिन भनी सोरा र एश्तोल सहरदेखि पठाए। ती पाँच भाइ जब एफ्राइमको पहाडी भूमिमा आइपुगे, तिनीहरू मीकाको घरमा बास बसे। 3त्यहाँ बस्दा तिनीहरूले त्यो लेवीको बोली चिने र उसलाई सोधे, “तिमी यहाँ के गर्दै छौ? कसले तिमीलाई यहाँ ल्यायो?”
4त्यसले उत्तर दियो, “मीकाको बन्दोबस्तमा म यहाँ छु, म उनको पूजाहारी काम गर्छु र उनैले मलाई ज्याला दिन्छन्।”
5तिनीहरूले उसलाई भने, “हामी जे काममा निस्केका छौं, त्यसमा हामी सफल हुन्छौं कि हुन्नौं, कृपा गरी परमेश्वरसँग सोधिदेऊ।”
6पूजाहारीले उत्तर दियो, “तिमीहरूले फिक्री गर्नुपर्दैन। यस यात्रामा तिमीहरूको काम परमेश्वरको हातमा छ।”
7यसकारण ती पाँच जना त्यहाँबाट हिंडे र लेश सहरमा पुगे। सीदोनबासीहरूजस्तै त्यहाँका बासिन्दाहरू शान्ति र सुरक्षामा बसेका तिनीहरूले देखे। लेशका मानिसहरू शान्त र खुसी थिए, आपसमा केही वाद-विवाद गर्दैनथे। चाहिएका कुरा सबै तिनीहरूसँग थियो। तिनीहरू सीदोनीहरूदेखि टाढै बस्थे अनि अरू कोहीसँग तिनीहरूको केही सम्बन्ध थिएन। 8ती पाँच जना सोरा र एश्तोलमा फर्किआउँदा, “तिमीहरूले के-के देख्यौ?” भनी तिनका देशबासीहरूले सोधे। 9तिनीहरूले भने, “जाऔं र हामी लेश सहरलाई आक्रमण गरौं। हामीले त्यो ठाउँ हेर्यौं, त्यो औधी असल ठाउँ छ। यहाँ हात बाँधेर नबसौं। चाँडो गरेर जाऔं र लेश सहरलाई लिइहालौँ। 10जब त्यहाँ पुग्छौँ, त्यहाँका मानिसहरूले केही कुराको शङ्का गर्नेछैनन्, त्यो तिमीहरूले देख्नेछौ। त्यो एउटा ठूलो ठाउँ छ। मानिसलाई चाहिने सबै थोक त्यहाँ पाइन्छ। परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिनुभएको छ।”
11यसरी लडाइँ गर्न तयार भई सोरा र एश्तोलदेखि छ सय दानवंशीहरू हिँडे। 12तिनीहरू उकालो लागे र यहूदाको किर्यत-यारीमको पश्चिमतर्फ छाउनी हालेर बसे। यसैकारण त्यस ठाउँलाई आजसम्म दानको ‘महनेह-दान’ भन्दछ। 13त्यहाँबाट अघि बढेर तिनीहरू एफ्राइमको डाँडामा मीकाको घरमा आइपुगे।
14तब लेश र चारैपट्टिका ठाउँको भेद लिन जाने ती पाँच जना मानिसले दानवंशीहरूलाई भने, “के तिमीहरूलाई थाहा छ कि यहाँका घरहरूमध्ये एउटा घरमा चाँदीले मोहोरेको एउटा काठको मूर्ति छ? अरू मूर्तिहरू र एउटा एपोद पनि त्यहाँ छन्। हामीले कसो गर्नुपर्ने हो? के विचार छ?” 15तिनीहरू मीकाको घरमा गए र त्यहाँ बस्ने युवा लेवीसँग उसको हालखबर सोधे। 16त्यति बेला लडाइँ गर्न तयार भई सहरको मूल-ढोकामा छ सय दानवंशी सिपाहीहरू खडा थिए। 17ती पाँच जना पुरुषहरू सोझै मीकाको घरमा गए र त्यो चाँदीले मोहोरेको काठको मूर्ति र अरू मूर्तिहरू र एपोद हात पारे। त्यस बेला पूजाहारीचाहिँ छ सय सिपाहीहरूसँग मूल-ढोकामा खडा थियो।
18त्यसरी ती मानिसहरू मीकाको घरमा पसेर ती पवित्र वस्तुहरू लिंदा पूजाहारीले सोध्यो, “यो तिमीहरूले के गर्दै छौ?”
19तिनीहरूले उसलाई भने, “चुप लाग, एक शब्द नबोल, हामीसँग आऊ र हाम्रा पूजाहारी र सल्लाहकार होऊ। एउटा परिवारको भन्दा सारा इस्राएली वंशको पूजाहारी बन्न के तिमीलाई राम्रो हुन्न र?” 20यो कुरामा त्यो पूजाहारी खुब खुसी भयो। यसकारण ती पवित्र वस्तुहरू लिएर ऊ तिनीहरूसँग हिँड्यो।
21तिनीहरू त्यहाँबाट फर्केर आफ्ना बालबच्चा, गाई-वस्तु र झिटी-मिटि अघि लगाएर हिँडे। 22तिनीहरू मीकाको घरदेखि निकै टाढा पुगे। तब आफ्ना छिमेकीहरूलाई लडाइँ गर्न मीकाले बोलायो। तिनीहरूले गएर दानवंशीहरूलाई भेटे 23र तिनीहरूलाई हकारे। दानवंशीहरूले फर्केर मीकालाई सोधे, “के भयो? यो भीड किन?”
24मीकाले उत्तर दियो, “तिमीहरू के भन्दै छौ? किन मलाई के भयो भनी सोध्दै छौ? मेरा पूजाहारी र देवताका मूर्तिहरू तिमीहरू लैजाँदै छौ? मसँग अब के रह्यो र?”
25दानवंशीहरूले भने, “तिमीलाई चुप बस्नु असल हुन्छ। यी मानिसहरू रिसाएर तिमीलाई आक्रमण गरेका चाहँदैनौ भने चुप लाग। नत्र तिमी परिवारसहित मारिनेछौ।” 26त्यसो भनेर दानवंशीहरू गए। मीकाले तिनीहरूलाई आफूभन्दा धेरै बलिया देख्यो। अनि फर्केर ऊ आफ्नो घर गयो।
27-28मीकाका पूजाहारी र मूर्तिहरू लिएर गएपछि दानवंशीहरूले लेश सहरमाथि आक्रमण गरे। शान्त र मेलमा बस्ने मानिसहरूको त्यो सहर बेथ-रहोब सहरसँग एउटै बेसीमा थियो। तिनीहरूले लेशबासीहरूलाई मारे र सहरमा आगो लाइदिए। तिनीहरूको बचाउको निम्ति कोही आएनन्, कारण सीदोनीहरू तिनीहरूदेखि टाढै थिए अनि ती जातिहरूसँग तिनीहरूको केही सम्बन्ध नै थिएन। त्यो सहरलाई फेरि बनाएर दानवंशीहरू त्यहाँ बसे। 29त्यसको नाम लेशबाट परिवर्तन गरेर तिनीहरूले आफ्ना पुर्खाको नामजस्तै ‘दान’ राखे। तिनीहरूका पुर्खाको नाम दान थियो, जो याकूबको छोरो थियो। 30दानवंशीहरूले आफूले पुज्नलाई मूर्तिहरू बनाए अनि गेर्शोमका छोरा अनि मोशाका नाति जोनाथन तिनीहरूका पूजाहारी भए। इस्राएलीहरू कैद गरेर नलगिएसम्म जोनाथनका छोरा-नातिहरूले दानवंशीका पूजाहारीको काम गर्थे। 31मीकाले बनाएको मूर्ति त्यहाँ शीलोको पालमा राखियो। पालमा परमेश्वरको आराधना गरिन्थ्यो। शीलोमा पाल रहुञ्जेल मूर्ति त्यहीँ राखियो।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 18: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.