YouVersion लोगो
खोज आइकन

याकूब 5:7-18

याकूब 5:7-18 सरल नेपाली

त्‍यसो हुँदा दाजुभाइहरू, प्रभु नआउञ्‍जेलसम्‍म धीरजी बस। हेर, खेती गर्नेले बहुमूल्‍य बाली उब्‍जाउन कति धीरज धर्छ। उसले वर्षा र हिउँदको पानी पर्खन्‍छ। तिमीहरू पनि त्‍यसै गरी पर्खेर दह्रो भई बस। आफ्‍नो आशा नमार, प्रभु आउनुहुने दिन नजिकै छ। दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्‍वरले तिमीहरूलाई न्‍याय गर्नुहुनेछैन। ‘न्‍याय गर्नुहुने नजिकै हुनुहुन्‍छ र उहाँ आउन तयार हुनुभएको छ। दाजुभाइहरू, धैर्य लिने र दु:ख सहनेहरूका नमुनाका रूपमा प्रभुका नाउँमा शिक्षा दिने अगमवक्ताहरूलाई सम्‍झ। तिनीहरूलाई हामीले सुखी सम्‍झन्‍छौं, कारण तिनीहरूले अन्‍तसम्‍मै दिगो रहेर सहे। अय्‍यूबको धैर्यको बारेमा तिमीहरूले सुनेका छौ। आखिरमा प्रभुले कसरी उनलाई भरिदिनुभयो, त्‍यो पनि जान्‍दछौ। प्रभु दया र मायाले भरिएको हुनुहुन्‍छ। मेरा दाजुभाइहरू, सबैभन्दा ठूलो कुराचाहिँ प्रतिज्ञा गर्दा शपथ कहिले पनि नहाल। स्‍वर्ग, पृथ्‍वी वा कुनै कुराको पनि नाउँ लिएर शपथ नहाल। हो भने हो भन्‍नू, होइन भने होइन भन्‍नू। त्‍यसो भए परमेश्‍वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्‍न। के तिमीहरूमध्‍ये कोही समस्‍यामा छ? उसले प्रार्थना गरोस्। कोही आनन्‍दित छ? उसले प्रशंसाको गीत गाओस्। कोही बिरामी छ? उसले मण्‍डलीका गुरुहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गर्नेछन्। विश्‍वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्‍छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्‍छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ। निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्‍वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्‍छ र यसले ठूलो काम गर्न सक्‍छ। एलिया पनि हामीजस्‍तै मानिस थिए। तीन वर्ष छ महिनासम्‍म वर्षा नहोस् भनी उनले प्रार्थना गर्दा पानी परेन। फेरि उनले प्रार्थना गरे अनि पानी पर्‍यो, पृथ्‍वी हराभरा भयो।

याकूब 5 पढ्नुहोस्