YouVersion लोगो
खोज आइकन

याकूब 5:7-18

याकूब 5:7-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्‍जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्‍य फसलको आशा राखेर किसानले अगिल्‍लो र पछिल्‍लो वर्षा नहोउञ्‍जेल धैर्य धारण गरेर पर्खिरहन्‍छ। तिमीहरूले पनि धैर्य धारण गर। आफ्‍नो हृदयलाई स्‍थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ। भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्‍यायकर्ता ढोकैमा हुनुहुन्‍छ। भाइ हो, कष्‍ट-भोग र धैर्यको उदाहरण कस्‍तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्‍ने अगमवक्ताहरूलाई हेर। हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्‍यका भन्‍छौं। तिमीहरूले अय्‍यूबको स्‍थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्‍तो करुणामय र कृपालु हुनुहुन्‍छ। मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्‌। के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌। के तिमीहरूमध्‍ये कोही बिरामी छ? त्‍यसले मण्‍डलीका एल्‍डरहरूलाई बोलाओस्‌। तिनीहरूले प्रभुको नाउँमा त्‍यसलाई तेलले अभिषेक गरेर त्‍यसको निम्‍ति प्रार्थना गरून्, र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्‍यसलाई निको पार्नुहुनेछ, र यदि त्‍यसले पाप गरेको छ भने त्‍यसलाई क्षमा हुनेछ। यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ। एलिया पनि त हामीहरूको जस्‍तै स्‍वभाव भएका मानिस थिए। तिनले पानी नपरोस्‌ भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्‍म पृथ्‍वीमा पानी परेन। तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्‍जनी दियो।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:7-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्‍लो र पछिल्‍लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ। तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ। हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ! हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्‍टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ। तिमीहरूलाई थाहै छ, कि कष्‍ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ। हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ हो अनि “होइन” चाहिँ होइन रहोस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। के तिमीहरूमध्ये कोही सङ्कष्‍टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्। के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई त्यसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाउनुपर्छ। अनि विश्‍वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ। यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन। तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्‍नहरू उब्जायो।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:7-18 पवित्र बाइबल (NERV)

दाज्यू-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरून्जेल प्रतीक्षा गर्छ। तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँडै आउनु हुँदैछ। दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ। दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुशरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे। हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्‌ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ। मेरा दज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैँन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ हो, भने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ होइन, भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी ठहरिने छैनौ। यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ। यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ। विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ। सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ। एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन। तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:7-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो हुँदा दाजुभाइहरू, प्रभु नआउञ्‍जेलसम्‍म धीरजी बस। हेर, खेती गर्नेले बहुमूल्‍य बाली उब्‍जाउन कति धीरज धर्छ। उसले वर्षा र हिउँदको पानी पर्खन्‍छ। तिमीहरू पनि त्‍यसै गरी पर्खेर दह्रो भई बस। आफ्‍नो आशा नमार, प्रभु आउनुहुने दिन नजिकै छ। दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्‍वरले तिमीहरूलाई न्‍याय गर्नुहुनेछैन। ‘न्‍याय गर्नुहुने नजिकै हुनुहुन्‍छ र उहाँ आउन तयार हुनुभएको छ। दाजुभाइहरू, धैर्य लिने र दु:ख सहनेहरूका नमुनाका रूपमा प्रभुका नाउँमा शिक्षा दिने अगमवक्ताहरूलाई सम्‍झ। तिनीहरूलाई हामीले सुखी सम्‍झन्‍छौं, कारण तिनीहरूले अन्‍तसम्‍मै दिगो रहेर सहे। अय्‍यूबको धैर्यको बारेमा तिमीहरूले सुनेका छौ। आखिरमा प्रभुले कसरी उनलाई भरिदिनुभयो, त्‍यो पनि जान्‍दछौ। प्रभु दया र मायाले भरिएको हुनुहुन्‍छ। मेरा दाजुभाइहरू, सबैभन्दा ठूलो कुराचाहिँ प्रतिज्ञा गर्दा शपथ कहिले पनि नहाल। स्‍वर्ग, पृथ्‍वी वा कुनै कुराको पनि नाउँ लिएर शपथ नहाल। हो भने हो भन्‍नू, होइन भने होइन भन्‍नू। त्‍यसो भए परमेश्‍वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्‍न। के तिमीहरूमध्‍ये कोही समस्‍यामा छ? उसले प्रार्थना गरोस्। कोही आनन्‍दित छ? उसले प्रशंसाको गीत गाओस्। कोही बिरामी छ? उसले मण्‍डलीका गुरुहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गर्नेछन्। विश्‍वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्‍छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्‍छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ। निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्‍वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्‍छ र यसले ठूलो काम गर्न सक्‍छ। एलिया पनि हामीजस्‍तै मानिस थिए। तीन वर्ष छ महिनासम्‍म वर्षा नहोस् भनी उनले प्रार्थना गर्दा पानी परेन। फेरि उनले प्रार्थना गरे अनि पानी पर्‍यो, पृथ्‍वी हराभरा भयो।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्