YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 42:1-17

उत्‍पत्ति 42:1-17 सरल नेपाली

याकूबले सुने कि मिश्रमा अन्‍न छ उनले आफ्‍ना छोराहरूलाई भने, “तिमीहरू किन केही गर्दैनौ? मिश्रमा अन्‍न छ भनी मैले सुनेको छु। त्‍यहाँ गएर केही अन्‍न किनिल्‍याओ र हामी भोकले मर्नुनपरोस्।” योसेफका दश जना दाजुहरू मिश्रमा अन्‍न किन्‍न गए। तर उनका भाइ बेन्‍यामीनलाई तिनीहरूसित याकूबले पठाएनन् किनभने त्‍यसलाई केही भइहाल्‍छ कि भनी उनी डराउँथे। याकूबका छोराहरू अरू मानिसहरूसँग अन्‍न किन्‍न हिँडे किनभने कनान देशमा पनि अनिकाल परेको थियो। योसेफले बडा-हाकिम भएर सारा संसारका मानिसहरूलाई अन्‍न बेच्‍दै थिए। तिनका दाजुहरू आएर भूइँमा निहुरेर तिनलाई प्रणाम गरे। दाजुहरूलाई देखेर योसेफले चिनिहाले तर नचिनेजस्‍तो गरे। तिनले कड्केर सोधे, “तिमीहरू कहाँदेखि आएका हौ?” तिनीहरूले उत्तर दिए, “हामी अन्‍न किन्‍न कनानदेखि आएका हौं।” योसेफले दाजुहरूलाई चिने पनि तिनीहरूले योसेफलाई चिनेनन्। तिनीहरूका बारेमा देखेका आफ्‍ना सपनाहरू सम्‍झेर तिनले भने, “तिमीहरू जासूसहरू हौ। हाम्रो देश के कुरामा कमजोर छ, त्‍यो बुझ्‍नलाई तिमीहरू आएका हौ।” “होइन, हजुर,” तिनीहरूले भने, “हामीहरू तपाईंका दास हौं, अन्‍न किन्‍न आएका हौं। हामी सबै दाजुभाइहरू हौं, जासूसीहरू होइनौं। हजुर, हामी इमानदार मानिसहरू हौं।” योसेफले तिनीहरूलाई भने, “होइन, तिमीहरू हाम्रो देशका कमजोरीहरू बुझ्‍न आएका हौ।” तिनीहरूले भने, “हजुर, एउटा बुबाका हामी बाह्र छोराहरू कनान देशमा थियौं। एउटा भाइ मर्‍यो। कान्‍छो भाइ घरमा बुबासँग छ।” योसेफले जवाफ दिए, “मेरो कुरा ठीक छ। तिमीहरू जासूसीहरू हौ। म तिमीहरूलाई यसरी जाँच्‍छु: तिमीहरूको कान्‍छो भाइ यहाँ नआएसम्‍म तिमीहरू यहाँबाट जान पाउनेछैनौ। यो कुरा राजा फारोको जीवन साक्षी राखी म भन्‍दछु। तिमीहरूबाट एक भाइ गएर त्‍यसलाई लिएर आऊ। तिमीहरूका मनका कुरा साँचो हो कि होइन, त्‍यो सफा नभइञ्‍जेल अरूहरूचाहिँ यहीँ कैदमा राखिनेछौ। राजा फारोको जीवन साक्षी राखी म भन्‍दछु, तिमीहरू जासूस हौ भन्‍ने कुरा साँचो हो।” त्‍यसपछि तिनले तीन दिनसम्‍म तिनीहरूलाई झ्‍यालखानमा थुने।

उत्‍पत्ति 42 पढ्नुहोस्