YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 42:1-17

उत्‍पत्ति 42:1-17 NNRV

मिश्रमा अनाज छ भनी थाहा पाएपछि याकूबले आफ्‍ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्काको मुख हेराहेर गर्दै बस्‍छौ? मिश्रमा अनाज छ रे भन्‍ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्‍यहाँ गएर हाम्रा निम्‍ति अनाज किनेर ल्‍याओ।” यसकारण योसेफका दश जना दाजुहरू मिश्रमा अनाज किन्‍न गए। तर याकूबले योसेफका भाइ बेन्‍यामीनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्‌। किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकूब डराउँथे। यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्‍न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो। त्‍यस बेला योसेफ मिश्रका अधिपति थिए। देशका सारा मानिसहरूलाई अनाज बेच्‍ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुहरूले आएर भूइँसम्‍म निहुरेर तिनलाई ढोग गरे। योसेफले आफ्‍ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्‍तै गरी कड़ासँग उनीहरूलाई सोधे, “तिमीहरू कहाँबाट आएका हौ?” उनीहरूले भने, “कनान देशबाट अनाज किन्‍न आएका हौं।” योसेफले आफ्‍ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्‌। तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्‍झे, र तिनले उनीहरूलाई भने, “तिमीहरू जासूस हौ। यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ।” उनीहरूले योसेफलाई भने, “हे प्रभु, त्‍यसो होइन। हामी तपाईंका दासहरू अनाज किन्‍न आएका हौं। हामी सबै एउटै मानिसका छोराहरू हौं। हामी सोझा मानिसहरू हौं, हामी हजूरका दासहरू हौं, जासूस होइनौं।” तिनले उनीहरूलाई भने, “होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ।” तब उनीहरूले भने, “हामी हजूरका दास बाह्र जना दाजुभाइहरू थियौं। कनान देशका एउटै मानिसका छोराहरू हौं। कान्‍छोचाहिँ यस बेला हाम्रा बुबाका साथमा छ, र एउटाचाहिँ अब छैन।” योसेफले उनीहरूलाई भने, “मैले भनेजस्‍तै तिमीहरू जासूस नै रहेछौ। अब तिमीहरूको जाँच यसरी हुनेछ। फारोको जीवनको शपथ खाएर म भन्‍दछु कि तिमीहरूको कान्‍छो भाइ नआएसम्‍म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ। तिमीहरूमध्‍ये एक जनालाई तिमीहरूको भाइलाई ल्‍याउन पठाओ। त्‍यतिञ्‍जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्‍य हो कि होइन जाँचिनेछ। नत्रता फारोको जीवनको शपथ खाएर म भन्‍दछु कि तिमीहरू जासूसै हौ।” अनि योसेफले उनीहरूलाई एकसाथ तीन दिन थुनामा राखे।