YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 35:1-29

उत्‍पत्ति 35:1-29 सरल नेपाली

परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “झट्टै बेथेलमा गएर त्‍यहाँ बास गर्‌। तेरो दाजु एसावदेखि भागेर गएको बेलामा तँलाई दर्शन दिनुहुने परमेश्‍वरलाई अथवा मलाई त्‍यहाँ एउटा वेदी बना।” याकूबले आफ्‍नो परिवार र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू हटाओ। आफैंलाई पवित्र पार र सफा लुगा लाओ। हामी यो ठाउँ छोडी बेथेलमा जान्‍छौं। त्‍यहाँ म परमेश्‍वरको निम्‍ति एउटा वेदी बनाउनेछु। जुन परमेश्‍वरले कष्‍टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्‍यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।” तिनीहरूले सम्‍पूर्ण विदेशी देवताहरू र आफ्‍ना कानमा लाएका कुण्‍डलहरू याकूबलाई दिए। उनले ती सबै शकेमको छेउमा फलाँटको रूखमुनि गाडे। याकूब र तिनका छोराहरू हिँड्‍न लाग्‍दा वरिपरिका सहरहरूका बासिन्‍दाहरूमाथि ठूलो डर भयो र तिनीहरूले तिनलाई खेदेनन्। याकूब आफ्‍ना सबै मानिसहरूसँग कनान देशको लूज सहरमा, जसलाई बेथेल पनि भनिन्‍छ, आइपुगे। उनले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यस ठाउँको नाम एल-बेथेल परमेश्‍वरको नामअनुसार राखे किनभने त्‍यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्‍वरले उनलाई दर्शन दिनुभएको थियो। रिबेकाकी धाई दबोरा त्‍यहीँ मरी र उसलाई बेथेलको दक्षिणपट्टि फलाँटको रूखमुनि गाडियो। यसकारण त्‍यसको नाम ‘रुवाबासीको फलाँट’ राखियो। जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्‍वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो। परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो नाम याकूब हो तर अब उसो इस्राएल हुनेछ।” यसरी उनलाई परमेश्‍वरले इस्राएल नाम दिनुभयो। अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। तेरा धेरै सन्‍तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्‍मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।” तब परमेश्‍वर बिदा हुनुभयो। त्‍यहाँ परमेश्‍वरले कुरा गर्नुभएको ठाउँमा याकूबले एउटा स्‍मारक ढुङ्गा ठड्याए र त्‍यसमाथि दाखमद्य र भद्राक्षको तेल खनाएर त्‍यसलाई अभिषेक गरे। त्‍यस ठाउँको नाम उनले बेथेल राखे। याकूब आफ्‍ना जहान, बालबच्‍चा लिएर बेथेलबाट हिँडे। तिनीहरू एप्रात पुग्‍न बाँकी नै थियो। राहेलले छोरा-छोरी जन्‍माउने समय भयो तर उसलाई ज्‍यादै पीडा भैरहेको थियो। उसलाई औधी पीडा भएको बेलामा सुडेनीले उनलाई भनी, “राहेल, नहड्‌बडाऊ। तिम्रो अर्को छोरो भयो।” तर उनी मर्न लागेकी थिइन् र प्राण जाने बेलामा छोराको नाम ‘बेन-ओनी’ राखिन्। तर बुबाचाहिँले बालकको नाम ‘बेन्‍यामीन’ राखे। राहेल मरिन्। आजकाल बेथलेहेम भनिने तर त्‍यस बेलाको एप्राततिर जाने बाटोको छेउमा उनलाई गाडियो। त्‍यहाँ याकूबले एउटा स्‍मारक ढुङ्गा ठड्याए र आजसम्‍म त्‍यो राहेलको चिहान ढुङ्गा छँदैछ। इस्राएल त्‍यहाँबाट अघि बढे र मिग्‍दल-एदेरको पारिपट्टि उनले आफ्‍नो पाल टाँगे। याकूब त्‍यस देशमा बसेको बेलामा उनको रखेल बिल्‍हासित रूबेन सुत्‍यो। त्‍यो सुनेर याकूब साह्रै रिसाए। याकूबका बाह्र छोराहरू थिए। लेआका छोराहरू रूबेन (याकूबका जेठा छोरा), शिमियोन, लेवी, यहूदा, इस्‍साखार र जबूलून थिए। राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए। राहेलकी कमारी बिल्‍हाका छोराहरू दान र नप्‍ताली थिए। लेआकी कमारी जिल्‍पाका छोराहरू गाद र आशेर थिए। यी छोराहरू पद्दन-आराममा जन्‍मेका थिए। हेब्रोनको नजिक अब्राहाम र इसहाक बसेका ठाउँ मम्रेमा आफ्‍नो बुबा इसहाकसँग भेट्‍न भनी याकूब गए। इसहाक एक सय असी वर्षसम्‍म बाँचे र पूरा उमेर पुगेर मरे। उनका छोरा एसाव र याकूबले उनलाई गाडे।

उत्‍पत्ति 35 पढ्नुहोस्