उत्पत्ति 35:1-29
उत्पत्ति 35:1-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्दाखेरि तँकहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना।” यसकारण याकूबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु।” यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए। जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन। याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात् बेथेलमा आइपुगे। त्यहाँ तिनले एउटा वेदी बनाए। त्यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो। त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे। याकूब पद्दन-आरामबाट आएपछि परमेश्वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष् दिनुभयो। परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। फल्दै-फुल्दैजा, र संख्यामा तेरो वृद्धि होस्। एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन्, र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्यो देश तँपछि हुने तेरा सन्तानलाई दिनेछु।” तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो। परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्यसमा अर्घ-बलि चढ़ाएर तेल खन्याए। परमेश्वरले तिनीसँग कुरा गर्नुभएको त्यस ठाउँको नाउँ याकूबले बेथेल राखे। तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी बेथा लाग्यो, र तिनलाई ज्यादै पीडा भयो। तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।” तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्) तिनले त्यस बालकको नाउँ बेन-ओनी राखिन्। तर त्यसका बुबाले बालकको नाउँ बेन्यामीन राखे। यसरी राहेल मरिन्, र एप्रात, अर्थात् बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े। याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्म पनि छँदैछ। इस्राएल अगि बढ़े, र तिनले मिग्दल-एदेरबाट पारिपट्टि आफ्नो पाल टाँगे। इस्राएल त्यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्हासँग सुते, र इस्राएलले यो कुरा सुने। याकूबका बाह्रजना छोराहरू थिए: लेआतर्फका छोराहरू: जेठा रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून। राहेलतर्फका छोराहरू: योसेफ र बेन्यामीन। राहेलकी कमारी बिल्हातर्फका छोराहरू: दान र नप्ताली। लेआकी कमारी जिल्पातर्फका छोराहरू: गाद र आशेर। पद्दन-आराममा जन्मेका याकूबका छोराहरू यी नै हुन्। याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात् किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। इसहाकको जम्मा उमेर एक सय असी वर्ष भएको थियो। तब इसहाकको मृत्यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।
उत्पत्ति 35:1-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले याकूबलाई भन्नुभयो, “झट्टै बेथेलमा गएर त्यहाँ बास गर्। तेरो दाजु एसावदेखि भागेर गएको बेलामा तँलाई दर्शन दिनुहुने परमेश्वरलाई अथवा मलाई त्यहाँ एउटा वेदी बना।” याकूबले आफ्नो परिवार र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू हटाओ। आफैंलाई पवित्र पार र सफा लुगा लाओ। हामी यो ठाउँ छोडी बेथेलमा जान्छौं। त्यहाँ म परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछु। जुन परमेश्वरले कष्टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।” तिनीहरूले सम्पूर्ण विदेशी देवताहरू र आफ्ना कानमा लाएका कुण्डलहरू याकूबलाई दिए। उनले ती सबै शकेमको छेउमा फलाँटको रूखमुनि गाडे। याकूब र तिनका छोराहरू हिँड्न लाग्दा वरिपरिका सहरहरूका बासिन्दाहरूमाथि ठूलो डर भयो र तिनीहरूले तिनलाई खेदेनन्। याकूब आफ्ना सबै मानिसहरूसँग कनान देशको लूज सहरमा, जसलाई बेथेल पनि भनिन्छ, आइपुगे। उनले त्यहाँ एउटा वेदी बनाए र त्यस ठाउँको नाम एल-बेथेल परमेश्वरको नामअनुसार राखे किनभने त्यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्वरले उनलाई दर्शन दिनुभएको थियो। रिबेकाकी धाई दबोरा त्यहीँ मरी र उसलाई बेथेलको दक्षिणपट्टि फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम ‘रुवाबासीको फलाँट’ राखियो। जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो। परमेश्वरले उनलाई भन्नुभयो, “तेरो नाम याकूब हो तर अब उसो इस्राएल हुनेछ।” यसरी उनलाई परमेश्वरले इस्राएल नाम दिनुभयो। अनि परमेश्वरले उनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। तेरा धेरै सन्तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।” तब परमेश्वर बिदा हुनुभयो। त्यहाँ परमेश्वरले कुरा गर्नुभएको ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा ठड्याए र त्यसमाथि दाखमद्य र भद्राक्षको तेल खनाएर त्यसलाई अभिषेक गरे। त्यस ठाउँको नाम उनले बेथेल राखे। याकूब आफ्ना जहान, बालबच्चा लिएर बेथेलबाट हिँडे। तिनीहरू एप्रात पुग्न बाँकी नै थियो। राहेलले छोरा-छोरी जन्माउने समय भयो तर उसलाई ज्यादै पीडा भैरहेको थियो। उसलाई औधी पीडा भएको बेलामा सुडेनीले उनलाई भनी, “राहेल, नहड्बडाऊ। तिम्रो अर्को छोरो भयो।” तर उनी मर्न लागेकी थिइन् र प्राण जाने बेलामा छोराको नाम ‘बेन-ओनी’ राखिन्। तर बुबाचाहिँले बालकको नाम ‘बेन्यामीन’ राखे। राहेल मरिन्। आजकाल बेथलेहेम भनिने तर त्यस बेलाको एप्राततिर जाने बाटोको छेउमा उनलाई गाडियो। त्यहाँ याकूबले एउटा स्मारक ढुङ्गा ठड्याए र आजसम्म त्यो राहेलको चिहान ढुङ्गा छँदैछ। इस्राएल त्यहाँबाट अघि बढे र मिग्दल-एदेरको पारिपट्टि उनले आफ्नो पाल टाँगे। याकूब त्यस देशमा बसेको बेलामा उनको रखेल बिल्हासित रूबेन सुत्यो। त्यो सुनेर याकूब साह्रै रिसाए। याकूबका बाह्र छोराहरू थिए। लेआका छोराहरू रूबेन (याकूबका जेठा छोरा), शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून थिए। राहेलका छोराहरू योसेफ र बेन्यामीन थिए। राहेलकी कमारी बिल्हाका छोराहरू दान र नप्ताली थिए। लेआकी कमारी जिल्पाका छोराहरू गाद र आशेर थिए। यी छोराहरू पद्दन-आराममा जन्मेका थिए। हेब्रोनको नजिक अब्राहाम र इसहाक बसेका ठाउँ मम्रेमा आफ्नो बुबा इसहाकसँग भेट्न भनी याकूब गए। इसहाक एक सय असी वर्षसम्म बाँचे र पूरा उमेर पुगेर मरे। उनका छोरा एसाव र याकूबले उनलाई गाडे।
उत्पत्ति 35:1-29 पवित्र बाइबल (NERV)
परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।” यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ। हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।” यसर्थ मानिसहरूसित भएका झूटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए। याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए। यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ। याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो। रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे। याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो। परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्। मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।” त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो। त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो। याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली। तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउँदैछ्यौ।” छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो। राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)। राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अझ पनि त्यहीं खडा छ। त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो। इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए। याकूब (इस्राएल) का बाह्र जना छोराहरू थिए। लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून। राहेलका छोराहरूः यूसुफ र बिन्यामीन। राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए। लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दम-आराममा थिए। याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बामा (हेब्रोन) गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए। इसहाक एक सय असी बर्ष बाँचे। इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।