याकूब डराए अनि चिन्तामा परे। आफूसित भएका मानिसहरू, भेडा-बाख्रा, गाई-गोरु र ऊँटहरू पनि दुई भाग गरेर उनले छुटाए र दुई हुल गरे। उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्न सक्ला। त्यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्ना कुटुम्बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्नुभएको थियो। म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्वासयोग्यताको योग्य म छैनँ। खालि एउटा हातमा टेक्ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु। म बिन्ती गर्दछु, मेरो दाजु एसावदेखि मलाई बचाउनुहोस्। म डराएको छु। एसावले आएर हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई आइमाई, छोरा-छोरीहरूसमेत नाश गर्नेछन् भनी मलाई डर लागेको छ। तपाईंले मसित प्रतिज्ञा गर्नुभएको थियो कि सबै कुरा तपाईंले ठीक गरिदिनुहुनेछ अनि मलाई समुद्रको किनारमा भएको बालुवाका कणसरि कसैले गन्न नसक्ने गरी सन्तान दिनुहुनेछ। त्यो करार याद गर्नुहोस्।” त्यो रात याकूबले त्यहीँ काटे। त्यसपछि उनले एसावका लागि सौगात यस प्रकार अलग गरे। दुई सय बाख्री, बीसवटा बोका, दुई सय भेडी, बीसवटा भेडा, तीस वटा दुहुना ऊँट र तिनका बच्चा, चालीस वटा गाई र दश वटा साँढे, बीसवटा गधैनी र दश वटा गधाहरू। उनले तिनीहरूका अलग-अलग बथान बनाए र एक-एक वटा चाकरलाई बथान-बथानको जिम्मा दिए। उनले तिनीहरूलाई भने, “बथानको बीच-बीचमा खाली ठाउँ छोडेर राख। बथानहरू लिएर मेरा अघि-अघि तिमीहरू जाओ।” तिनले सबैभन्दा अघिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अघि-अघि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने तैँले जवाफमा यसो भन्नू, ‘यी तपाईंका दास याकूबका हुन्। उनले यी आफ्ना स्वामी एसावलाई सौगात पठाउनुभएको हो। याकूब पछि आउँदै छन्’।” उनले त्यस्तै आज्ञा दोस्रो, तेस्रो र त्यसपछिको बथान लिई जाने चाकरहरूलाई दिए, “तिमीहरूले एसावलाई भेट्दा यसो भन्नू, ‘हजुर, तपाईंको दास याकूब पछिपछि आउँदै छन्’।” याकूबले सोच्दै थिए कि यो सौगातले म उनको मन जित्नेछु र मसँग भेट हुँदा सायद उनले मलाई माफ देलान्। यी सौगातहरू उनले अघि-अघि पठाए र आफू राती त्यहाँ पालमा बसे।
उत्पत्ति 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 32:7-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू