YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 3:9-20

उत्‍पत्ति 3:9-20 सरल नेपाली

तर परमप्रभु परमेश्‍वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।” “तँ नाङ्गै छस् भनेर कसले तँलाई भन्‍यो? मैले नखानू भनेको फल तैँले खाइस् कि कसो?” परमेश्‍वरले सोध्‍नुभयो। मानिसले उत्तर दिई भने, “यहाँ मसँग रहन तपाईंले दिनुभएको स्‍त्रीले मलाई त्‍यो फल दिई र मैले खाएँ।” परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई सोध्‍नुभयो, “किन तैँले त्‍यसो गरिस्?” उनले भनिन्‌, “साँपले पो मलाई छल गरेर त्‍यो खान लायो।” तब परमप्रभु परमेश्‍वरले साँपलाई भन्‍नुभयो, “यसको लागि तैँले दण्‍ड पाउनेछस् र सबै पशुहरूमध्‍ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्‍नेछस् र जीवनभरि माटो खानेछस्। म तँलाई र स्‍त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्‍यसको सन्‍तानले तेरो टाउको कुच्‍च्‍याउनेछ र तैँले त्‍यसको सन्‍तानको कुर्कुच्‍चा ठुँग्‍नेछस्।” तब उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले गर्भवती हुँदा पाउने कष्‍ट र छोरा-छोरी जन्‍माउँदा पाउने पीडा म बढाउनेछु। त्‍यसो भएर पनि तैँले आफ्‍ना लोग्‍नेको चाहना गर्नेछस् र उसको अधीनमा बस्‍नेछस्।” अनि उहाँले मानिसलाई भन्‍नुभयो, “तैँले तेरी स्‍वास्‍नीको कुरा सुनिस् र मैले नखानू भनेको फल खाइस्, तेरो यस कामले गर्दा भूमिमाथि सराप पर्नेछ, त्‍यहाँबाट आफूलाई पुग्‍ने गरी खानेकुरा उमार्न तैँले जीवनभरि कठोर मेहनत गर्नुपर्नेछ। त्‍यसले काँडा र काम नलाग्‍ने झार उमार्नेछ र तैँले बनका सागपात खानेछस्। जुन माटोबाट तँ बनाइएको थिइस्, त्‍यही माटोमा नफर्कुञ्‍जेल तैँले भूमिबाट केही कुरा उमार्न कठोर परिश्रम गरी पसिना चुहाउनुपर्नेछ। तँ माटोले बनेको थिइस् र फेरि माटै बन्‍नेछस्।” आदमले आफ्‍नी स्‍वास्‍नीको नाम हव्‍वा राखे किनभने उनी सबै मानिसजातिकी आमा थिइन्‌।

उत्‍पत्ति 3 पढ्नुहोस्