तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?” उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।” उहाँले सोध्नुभयो, “तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?” मानिसले भने, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।” अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैंले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले त्यो खाएँ।” तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्। पेटद्वारा तँ हिँड्नेछस् र तेरो जीवनभरि तैंले माटो खानेछस्। तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्। त्यसले तेरो निम्ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्। माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।” आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्।
उत्पत्ति 3 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 3:9-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू