YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 27:30-40

उत्‍पत्ति 27:30-40 सरल नेपाली

इसहाकले आशिष् दिइसके। याकूब त्‍यहाँबाट जानेबित्तिकै उनका दाजु एसाव शिकारबाट फर्की आए। उसले पनि केही स्‍वादिलो खाना पकाएर बुबाकहाँ लगे उनले भने, “बुबा, कृपा गरी उठेर मैले ल्‍याएको मासु खानुहोस् र मलाई आशीर्वाद दिनुहोस्।” “तँ को होस्?” इसहाकले सोधे। “म तपाईंको जेठो छोरो एसाव हुँ।” उनले उत्तर दिए। इसहाक काम्‍न लागे। उनका सारा शरीर थरथरी हल्‍लियो र उनले भने, “त्‍यसो भए त्‍यो पशु मारेर अघि मकहाँ मासु लिइआउने को हो? तँ आउनुभन्दा एक छिनअघि त्‍यो मासु मैले खाएँ। मेरो आखिरी आशीर्वाद मैले त्‍यसलाई दिइहालें र त्‍यो सधैँभरिका लागि त्‍यसको भयो।” यो सुनेर एसावले अति दु:ख मानी जोडले रोए र भने, “बुबा, मलाई पनि तपाईंको आशीर्वाद दिनुहोस्।” इसहाकले उत्तर दिए, “तेरो भाइ आएर मलाई छल गर्‍यो। तेरो आशिष् त्‍यसले लग्‍यो।” एसावले भने, “त्‍यसले मलाई ठगेको यो दोस्रोपल्‍ट हो। त्‍यसको नाम याकूब राखेकोमा केही आश्‍चर्यको कुरा छैन। मेरो जेठो छोराको अधिकार त्‍यसले लग्‍यो र अहिले मेरो आशिष् पनि लग्‍यो। के मेरो लागि एउटै आशिष् पनि बाँकी राखिदिनुभएन?” इसहाकले उत्तर दिए, “त्‍यसलाई अघि नै मैले तेरा मालिक बनाइसकें, त्‍यसका सारा कुटुम्‍बलाई त्‍यसका दास बनाइसकें। त्‍यसलाई अन्‍न र दाखमद्य दिइहालें। तँलाई दिने अब मसँग केही पनि छैन, छोरा!” एसावले बुबालाई बिन्‍ती गरिरहे, “तपाईंसँग एउटा आशिष् त छ होला, बुबा? मलाई पनि आशीर्वाद दिनुहोस् न बुबा!” तिनी रुन थाले। तब इसहाकले उसलाई भने, “तेरो लागि आकाशको शीत छैन, मलिलो भूमि छैन। तँ आफ्‍ना तरवारको बलले जिउनेछस् तर भाइको दास हुनेछस्। तैँले विद्रोह गरेर त्‍यसको अधिकारबाट छुट्‍नेछस्।”

उत्‍पत्ति 27 पढ्नुहोस्