YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 27:30-40

उत्‍पत्ति 27:30-40 NNRV

इसहाकले आशिष्‌ दिइसक्ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका दाजु एसाव शिकारबाट आइपुगे। उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍नो पिताकहाँ ल्‍याए। र उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको शिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌।” उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।” इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्‍यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्‍यायो, र तँ आउन अघि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकें? हो, त्‍योचाहिँ आशीर्वादी हुनेछ।” जब एसावले आफ्‍ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌।” तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लगिहाल्‍यो।” एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठगिसक्‍यो। त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?” इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकें। र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ। अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु। अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?” एसावले आफ्‍ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष्‌ छ र मेरा बुबा? मलाई पनि त आशिष्‌ दिनुहोस्‌।” अनि एसाव डाँको छोड़ेर रोए। तब उनका पिता इसहाकले भने, “हेर्, तेरो बसोबास पृथ्‍वीको प्रशस्‍तपनाबाट बाहिरै हुनेछ, र आकाशको शीतबाट बाहिर। तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस्, र तैंले तेरो भाइको सेवा गर्नेछस्‌। तर तँ व्‍याकुल भएपछि तैंले त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌।”