ती चार जना राजाहरूले खानेकुरासहित सदोम र गमोरामा भएका सबै थोक लगेर गए। अब्रामका भतिजा लोत सदोममा बसेका थिए र ती राजाहरूले लोत र उनका सारा सम्पत्ति पनि लगे। तर एउटा मानिस उम्की भाग्यो र हिब्रू अब्रामकहाँ गई यो सबै कुरा सुनाइदियो। एमोरीको मम्रेका पवित्र रूखहरूछेउ अब्राम बास गरेका थिए। मम्रे र उनका भाइहरू एश्कोल र आनेर अब्रामका मित्र थिए। आफ्नो भतिजाको पक्राउ परेका कुरा सुनेर अब्रामले आफ्ना पालका लडाकु मानिसहरू जम्मा ३१८ जना एकसाथ भेला गरे र ती चार राजाहरूलाई खेदेर दानसम्म पुगे। त्यहाँ उनले आफ्ना मानिसहरूलाई भाग-भाग गरी छुट्ट्याए, राती बैरीहरूमाथि जाइलागे र तिनीहरूलाई हराए। तिनीहरूलाई खेदेर उनले दमस्कसका उत्तरमा होबासम्म खेदे। र तिनीहरूले लुटेर लगेका सबै चीजहरू फर्काइल्याए। उनले आफ्ना भतिजा लोत र उनका धन-सम्पत्ति र स्त्रीहरू र अरू कैद गरिएका मानिसहरूसमेत फर्काइल्याए। कदोर्लाओमेर र अरू राजाहरूलाई जितेर जब अब्राम फर्की आए, सदोमका राजा उनलाई भेट्न शावेको बेसीमा आए (त्यस ठाउँलाई राजाको बेसी पनि भनिन्थ्यो)। अनि शालेमका राजा मल्कीसेदेक, जो सर्वोच्च परमेश्वरका पूजाहारी पनि थिए, उनले अब्रामकहाँ रोटी र दाखमद्य लिएर आई उनलाई आशीर्वाद दिए र भने “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वरले अब्रामलाई आशिष् देऊन्! तिमीलाई बैरीहरूमाथि जिताहा बनाउनुहुने सर्वोच्च परमेश्वरको प्रशंसा होस्!” अनि अब्रामले आफूले जितिल्याएको हरेक चीजको दश भागमा एक भागचाहिँ मल्कीसेदेकलाई दिए। सदोमका राजाले अब्रामलाई भने, “तपाईंले जितेर ल्याएका चीजहरू तपाईं नै राख्नुहोस्, मलाई खालि मेरा सबै मानिसहरू फर्काइदिनुहोस्।” अब्रामले उत्तर दिए, “सर्वोच्च परमेश्वर स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुको सामु म यो वाचा गर्दछु कि म तपाईंका केही थोक, अँ, धागो वा जुत्ताका फित्तासम्म पनि केही लिनेछैनँ र तपाईंले कहिल्यै पनि अब्रामलाई धनी बनाउने मै हुँ भनी भन्न सक्नुहुनेछैनौ। म आफ्नो निम्ति केही लिनेछैनँ। मेरा मान्छेहरूले जे कुरा चलाइसक्नेछन्, ती मात्र म स्वीकार गर्नेछु। तर मेरा मित्रहरू आनेर, एश्कोल र मम्रेले आ-आफ्ना हिस्सा लेऊन्।”
उत्पत्ति 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 14:11-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू