उत्पत्ति 14:11-24
उत्पत्ति 14:11-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए। उम्केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए। अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए। तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्त गरे, र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे। तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्पत्ति, स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए। कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए। अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस्। सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए। तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्नू।” तर अब्रामले सदोमका राजालाई भने, “स्वर्ग र पृथ्वीका परमप्रभु, सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु, कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईंले भन्नुहुनेछ। मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।”
उत्पत्ति 14:11-24 पवित्र बाइबल (NERV)
शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए। तिनीहरूले अब्रामको दाज्यूको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिब्रु अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एश्कोल र अनेर एमोरीको मम्रेको फलाँटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे। जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्दै गए। शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे। अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए। कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ। शालेमका राजा मल्कीसेदेक पनि रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए। मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः “जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो, सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्। अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं। परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।” अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए। तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौ। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काइ देऊ।” तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु। मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिंदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुत्ताको फिता पनि म लिंदिन, म तिमीलाई भन्ने मौका दिंदिन, ‘अब्रामलाई मैले धनी बनाएँ।’ म मात्र त्यो ग्रहण गर्नेछु जो ती जवान मानिसहरूले खाए। तर तिमीले ती अन्य मानिसहरूको भाग तिनीहरूलाई नै दिनु पर्छ। हामीले युद्धमा जितेर ल्याएका चीजहरू ग्रहण गर अनि त्यसबाट अनेर, एरकोल र मम्रेलाई तिनीहरूको हिस्सा देऊ। तिनीहरूले मलाई युद्धमा सहायता गरेका थिए।”
उत्पत्ति 14:11-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती चार जना राजाहरूले खानेकुरासहित सदोम र गमोरामा भएका सबै थोक लगेर गए। अब्रामका भतिजा लोत सदोममा बसेका थिए र ती राजाहरूले लोत र उनका सारा सम्पत्ति पनि लगे। तर एउटा मानिस उम्की भाग्यो र हिब्रू अब्रामकहाँ गई यो सबै कुरा सुनाइदियो। एमोरीको मम्रेका पवित्र रूखहरूछेउ अब्राम बास गरेका थिए। मम्रे र उनका भाइहरू एश्कोल र आनेर अब्रामका मित्र थिए। आफ्नो भतिजाको पक्राउ परेका कुरा सुनेर अब्रामले आफ्ना पालका लडाकु मानिसहरू जम्मा ३१८ जना एकसाथ भेला गरे र ती चार राजाहरूलाई खेदेर दानसम्म पुगे। त्यहाँ उनले आफ्ना मानिसहरूलाई भाग-भाग गरी छुट्ट्याए, राती बैरीहरूमाथि जाइलागे र तिनीहरूलाई हराए। तिनीहरूलाई खेदेर उनले दमस्कसका उत्तरमा होबासम्म खेदे। र तिनीहरूले लुटेर लगेका सबै चीजहरू फर्काइल्याए। उनले आफ्ना भतिजा लोत र उनका धन-सम्पत्ति र स्त्रीहरू र अरू कैद गरिएका मानिसहरूसमेत फर्काइल्याए। कदोर्लाओमेर र अरू राजाहरूलाई जितेर जब अब्राम फर्की आए, सदोमका राजा उनलाई भेट्न शावेको बेसीमा आए (त्यस ठाउँलाई राजाको बेसी पनि भनिन्थ्यो)। अनि शालेमका राजा मल्कीसेदेक, जो सर्वोच्च परमेश्वरका पूजाहारी पनि थिए, उनले अब्रामकहाँ रोटी र दाखमद्य लिएर आई उनलाई आशीर्वाद दिए र भने “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वरले अब्रामलाई आशिष् देऊन्! तिमीलाई बैरीहरूमाथि जिताहा बनाउनुहुने सर्वोच्च परमेश्वरको प्रशंसा होस्!” अनि अब्रामले आफूले जितिल्याएको हरेक चीजको दश भागमा एक भागचाहिँ मल्कीसेदेकलाई दिए। सदोमका राजाले अब्रामलाई भने, “तपाईंले जितेर ल्याएका चीजहरू तपाईं नै राख्नुहोस्, मलाई खालि मेरा सबै मानिसहरू फर्काइदिनुहोस्।” अब्रामले उत्तर दिए, “सर्वोच्च परमेश्वर स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुको सामु म यो वाचा गर्दछु कि म तपाईंका केही थोक, अँ, धागो वा जुत्ताका फित्तासम्म पनि केही लिनेछैनँ र तपाईंले कहिल्यै पनि अब्रामलाई धनी बनाउने मै हुँ भनी भन्न सक्नुहुनेछैनौ। म आफ्नो निम्ति केही लिनेछैनँ। मेरा मान्छेहरूले जे कुरा चलाइसक्नेछन्, ती मात्र म स्वीकार गर्नेछु। तर मेरा मित्रहरू आनेर, एश्कोल र मम्रेले आ-आफ्ना हिस्सा लेऊन्।”