YouVersion लोगो
खोज आइकन

एज्रा 3

3
परमेश्‍वरको आराधना फेरि सुरु हुन्‍छ
1सातौँ महिनासम्‍ममा इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसिसकेका थिए। त्‍यसपछि तिनीहरू सबै यरूशलेममा भेला भए। 2#प्रस्‍थान 27:1योसादाकको छोरो येशूअ, उनका पूजाहारी मित्रहरू र शालतिएलको छोरो यरुबाबेल र उनका कुटुम्‍बहरूले इस्राएलका परमेश्‍वरको वेदी बनाए र परमेश्‍वरका जन मोशाले दिएका व्‍यवस्‍थामा लेखिएका आदेशअनुसार तिनीहरूले त्‍यहाँ आफ्‍ना बलिदानहरू चढाउन थाले। 3#गन्ती 28:1-8कैदबाट फर्किआएका मानिसहरू देशमा बास गरिरहेका मानिसहरूसित डराए तापनि तिनीहरूले अघिकै ठाउँमा वेदी खडा गरे। त्‍यसपछि फेरि तिनीहरूले नियमितरूपले त्‍यसमाथि बिहान र बेलुकाका बलिदान होमबलि चढाउन लागे। 4#गन्ती 29:12-38तिनीहरूले नियमअनुसार छाप्रो-वासको चाड मनाए। प्रत्‍येक दिन त्‍यस दिनलाई तोकिएका बलिदानहरू चढाए। 5#गन्ती 28:11—29:39अनि त्‍यसमाथि दैनिक होमबलि, औंसीका दिनमा र अरू नियमितरूपले परमप्रभु पुज्‍नलाई भेला हुनुपर्ने दिनहरूमा र आफ्‍ना इच्‍छाले चढाइनुपर्ने भेटीसमेत तिनीहरूले चढाउन लागे। 6मानिसहरूले त्‍यस बेलासम्‍म फेरि मन्‍दिर बनाउन सुरु नगरेका भए तापनि तिनीहरूले सातौँ महिनाको पहिलो दिनमा परमप्रभुलाई बलिदानहरू चढाउन थाले।
मन्‍दिर बनाउन फेरि सुरु हुन्‍छ
7ढुङ्गा र काठका काम गर्नेहरूका ज्‍याला दिन मानिसहरूले पैसा दिए र लेबनानबाट ल्‍याइने देवदारुका काठहरूका सट्टामा टुरोस र सीदोनमा पठाइनुपर्ने खाद्य र जैतुनको तेल पनि दिए। देवदारुका काठहरू समुद्रबाट योप्‍पासम्‍म ल्‍याइन्‍थे। यी सबै काम गर्ने अनुमति फारसका महाराजा कोरेसले दिएका थिए। 8यसरी यरूशलेममा मन्‍दिर बनेको ठाउँमा तिनीहरू आइपुगेको एक वर्षपछि त्‍यस वर्षको दोस्रो महिनामा तिनीहरूले काम सुरु गरे। यरुबाबेल, येशूअ र तिनीहरूका सबै स्‍वदेशी सङ्गीहरू, पूजाहारीहरू र लेवीहरू र वास्‍तवमा यरूशलेममा कैदबाट फर्किआउने सबै मानिसहरू त्‍यस काममा लागे। बीस वर्ष वा त्‍यसभन्दा बढी उमेर भएका सबै लेवीहरू मन्‍दिर फेरि बनाउने कामका जिम्‍मावार खटाइए। 9लेवी येशूअ र उनका छोराहरू, कुटुम्‍बहरू, कादमीएल र उनका छोराहरूले (होदबियाका गोत्रका) मन्‍दिर बनाउने काम रेख-देख गर्न साथ दिए। (तिनीहरूलाई हेनादाद गोत्रका लेवीहरूले मद्दत गरे।)
10 # १ इतिहास 25:1 मानिसहरूले मन्‍दिरको जग बसाल्‍न थालेपछि पूजाहारीहरू पोशाक पहिरेर हातमा तुरही लिई आफ्‍ना ठाउँमा उभिए। आसाप गोत्रका लेवीहरू झ्‍याम्‍टा लिएर उभिए। दाऊद राजाको पालादेखि मान्‍दैआएको आदेशअनुसार तिनीहरूले परमप्रभुको प्रशंसा गरे। 11#१ इतिहास 16:34; २ इतिहास 5:13; 7:3; भजनसंग्रह 100:5; 106:1; 107:1; 118:1; 136:1; यर्मिया 33:11तिनीहरूले परमप्रभुको स्‍तुति गर्दै भजन गाए र यो पंक्ति दोहोर्‍याई गाए:
“परमप्रभु भलो हुनुहुन्‍छ
र इस्राएलमाथि उहाँको प्रेम सदासर्वदा रहिरहन्‍छ।”
सबै जनाले पूरा जोडसित स्‍वर उठाएर जयध्‍वनिका साथ परमप्रभुको प्रशंसा गरे किनभने मन्‍दिरको जग बसाल्‍ने काम सुरु भएको थियो। 12धेरै वृद्ध पूजाहारी, लेवी र गोत्र-गोत्रका प्रधानहरूले पहिलो मन्‍दिर देखेका थिए। यो मन्‍दिरको जग बसालेको देखेर तिनीहरू रुन र विलाप गर्न थाले। तर त्‍यहाँ हुने अरू व्‍यक्तिहरूचाहिँ आनन्‍दले चिच्‍च्‍याए। 13मानिसहरू आनन्‍दले कराएका र रोएका स्‍वरहरू कसैले अलग्‍गै ठम्‍याउन सकेनन् किनभने यति चर्को आवाज उठेको थियो कि टाढा-टाढासम्‍म त्‍यो सुनिन्‍थ्‍यो।

अहिले सेलेक्ट गरिएको:

एज्रा 3: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्