YouVersion लोगो
खोज आइकन

इजकिएल 44

44
पूर्वपट्टिको मूल-ढोकाको प्रयोग
1ती मानिसले मलाई मन्‍दिरको पूर्वपट्टिको बाहिरी मूल-ढोकामा लगे। मूल-ढोका बन्‍द थियो। 2परमप्रभुले मलाई भन्‍नुभयो, “यो मूल-ढोका बन्‍द रहनेछ, त्‍यो कहिल्‍यै खोलिनेछैन। कुनै मानिसले त्‍यो चलाउन पाउनेछैन किनभने म परमप्रभु इस्राएलका परमेश्‍वर त्‍यताबाट प्रवेश गरेको छु। त्‍यो बन्‍द रहनेछ। 3शासन गर्ने राजाचाहिँ मूल-ढोकाको दलानमा मेरो सामुन्‍ने पवित्र-भोज खानलाई जान सक्‍छ। मन्‍दिरपट्टि फर्केको ठूलो कोठाबाट राजा त्‍यस मूल-ढोकाको दलानमा पस्‍नेछन् र त्‍यतैबाट निस्‍कनेछन्।”
मन्‍दिरभित्र पस्‍ने नियमहरू
4त्‍यसपछि ती मानिसले मलाई उत्तरको मूल-ढोकाबाट मन्‍दिरको भित्री चोकमा लगे। यसो हेर्दा परमप्रभुको मन्‍दिर उहाँको महिमाले भरिएको मैले देखें। म भूइँमा घोप्‍टो परें। 5परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, तैँले जे-जे देख्‍छस् र सुन्‍छस्, ती कुरामा ध्‍यान दे। म तँलाई मन्‍दिरका नियमकानुनहरू बताउनेछु। क-कसले मन्‍दिर भित्र-बाहिर गर्न पाउनेछ र क-कसले गर्न पाउनेछैन, त्‍यो राम्ररी ख्‍याल गर्‌।
6“इस्राएलका सबै बागी मानिसहरूलाई भन् कि म सार्वभौम परमप्रभुले अब उसो तिनीहरूले गर्दैआएका घिनलाग्‍दा काममा सहनेछैनँ। 7पशुहरूको बोसो र रगत बलि चढाउँदैगरेको बेलामा इस्राएलका मानिसहरूले मेरा आज्ञापालन नगर्ने बेखतने विदेशीहरूलाई मन्‍दिरभित्र पस्‍न दिएर तिनीहरूले मेरो मन्‍दिर बिटुलो पारेका छन्। यसरी सबै प्रकारका घिनलाग्‍दा कामहरू गरेर मेरा प्रजाले मेरो करार तोडेका छन्। 8मेरो मन्‍दिरको पवित्र रीति-विधिहरूको जिम्‍मा तिनीहरू आफैंले नलिई विदेशीहरूलाई दिएका छन्।
9“म सार्वभौम परमप्रभु भन्‍दछु कि मेरो आज्ञापालन नगर्ने बेखतने विदेशीहरू मेरा मन्‍दिरमा पस्‍न पाउनेछैनन्, इस्राएलीहरूकै बीचमा बास गर्ने विदेशीहरू पनि पस्‍न पाउनेछैनन्।”
लेवीहरूलाई पूजाहारीको काम गर्न मनाही
10परमप्रभुले मलाई भन्‍नुभयो, “इस्राएलका मानिसहरू अरूसित लागेर मलाई त्‍यागी मूर्तिपूजा गर्ने लेवीहरूलाई म दण्‍ड दिनेछु। 11पाले भएर वा मन्‍दिरको अरू साधारण सेवाकार्य गरेर तिनीहरूले मन्‍दिरमा मेरो सेवा गर्न सक्‍नेछन्। मानिसहरूले होमबलि र अन्‍य बलि चढाउन ल्‍याएका पशुहरू तिनीहरूले मार्न सक्‍छन् र प्रजाको सेवा गर्न सबै समय तिनीहरू तयार रहनुपर्नेछ। 12तर इस्राएलका मानिसहरूका निम्‍ति तिनीहरूले मूर्तिपूजा गर्ने काम गरेर तिनीहरूलाई पाप गर्न लाएका हुनाले म सार्वभौम परमप्रभु यो गम्‍भीर शपथ खान्छु कि तिनीहरूले दण्‍ड पाउनैपर्छ। 13तिनीहरूले पूजाहारीका रूपमा मेरो सेवा गर्न पाउनेछैनन्, मेरो निम्‍ति ठहरिएको कुनै पनि पवित्र थोकको नजिक जान पाउनेछैनन् र महा-पवित्रस्‍थानको नजिक पनि पस्‍न पाउनेछैनन्। तिनीहरूले गरेका घिनलाग्‍दा कुराहरूका निम्‍ति यही नै तिनीहरूको सजाय हुनेछ। 14मन्‍दिरमा गरिने चाकरको काम म तिनीहरूलाई दिनेछु।”
पूजाहारीहरू
15सार्वभौम परमप्रभुले भन्‍नुभयो, “इस्राएलका सबै मानिसहरू मबाट टाढा भएर गएका बेलामा पनि लेवी कुलका सादोक वंशका पूजाहारीहरूले विश्‍वासयोग्‍य भएर मन्‍दिरमा मेरो सेवा गरिरहे। त्‍यसकारण अब, तिनीहरूले नै मेरो सेवा गर्नेछन् र बलि चढाएका पशुहरूका बोसो र रगत मलाई चढाउन तिनीहरू नै मेरो उपस्‍थितिमा आउनेछन्। 16तिनीहरू मात्र मेरो मन्‍दिरभित्र पस्‍नेछन्, मेरो वेदीमा सेवा गर्नेछन् र मन्‍दिरको सेवाकार्य चलाउनेछन्। 17#प्रस्‍थान 28:39-43; लेवी 16:4तिनीहरू मन्‍दिरको भित्री चोकका मूल-ढोकाबाट जाँदा तिनीहरूले मिहिन सुतीका पोशाक पहिरनेछन्। मन्‍दिरका अथवा त्‍यसको भित्री चोकमा सेवाको कार्य गरेका बेलामा तिनीहरूले ऊनले बनेका कुनै वस्‍त्र लाउनेछैनन्। 18तिनीहरूलाई पसिना नआओस् भनेर तिनीहरूले मिहिन सुतीका फेटा र सुरुवाल लाउनेछन् र पटुका लाउनेछैनन्। 19#लेवी 16:23मानिसहरू भेला हुने बाहिरी चोकमा जाँदा तिनीहरूले मन्‍दिरमा सेवा गरेका बेलामा लाएका पोशाक फुकाली पवित्र कोठाहरूमा राख्‍नेछन्। ती पोशाक पवित्र भएकोले मानिसहरूलाई हानि नगरून् भनी तिनीहरूले अरू वस्‍त्र लाउनुपर्नेछ।
20 # लेवी 21:5 “पूजाहारीहरूले कपाल खौरन पाउनेछैनन् न त केश लामो पाल्‍न पाउनेछन्। तिनीहरूले आफ्‍ना केश ठिक्‍कको लामो राख्‍नेछन्। 21#लेवी 10:9भित्री चोकमा पस्‍नुअघि पूजाहारीहरूले कुनै मद्य पिउनुहुन्‍न। 22#लेवी 21:7,13,14पूजाहारीले केवल एउटी इस्राएली कन्‍ये वा पूजाहारीकी विधवासित मात्र बिहे गर्नेछ। त्‍यसले अरू विधवा वा श्रीमान्‌बाट छुट्टिएकी स्‍त्रीलाई बिहे गर्न पाउनेछैन।
23 # लेवी 10:10 “पूजाहारीहरूले मेरो प्रजालाई पवित्र र साधारण अनि विधिअनुसार शुद्ध वा अशुद्ध कुरा छुट्ट्याउन सिकाउनेछन्। 24कुनै मुद्दा चल्‍यो भने पूजाहारीहरूले मेरा कानुनअनुसार फैसला गर्नेछन्। मेरा नियम-कानुनअनुसार तिनीहरूले धार्मिक चाड-बाड मनाउनेछन् र तिनीहरूले विश्राम दिनलाई पवित्र राख्‍नेछन्।
25 # लेवी 21:1-4 “मुर्दा छोएर पूजाहारीहरूले आफैंलाई विधिअनुसार अशुद्ध बनाउनेछैनन्। तर आफ्‍ना आमा-बुबा, छोराछोरी, दाजुभाइ अथवा बिहे नभएकी दिदी-बहिनीको लाश भने तिनीहरूले छुन सक्‍छन्। 26आफू शुद्ध भएपछि त्‍यसले सात दिनसम्‍म पर्खनुपर्नेछ 27र त्‍यसपछि मन्‍दिरको भित्री चोकमा गई आफ्‍नो शुद्धीकरणको निम्‍ति एउटा पापबलि चढाउनुपर्नेछ। त्‍यसपछि मात्र त्‍यसले फेरि मन्‍दिरमा सेवाको कार्य गर्न सक्‍नेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
28 # गन्ती 18:20 “तिनीहरूका कुनै पैतृक सम्‍पत्ति हुनेछैन। तिनीहरूका निम्‍ति पैतृक सम्‍पत्ति म नै हुँ। तिनीहरूलाई कुनै सम्‍पत्तिको अधिकार नदिनुको कारण म नै तिनीहरूले पाउने अधिकार हुँ। 29#गन्ती 18:8-19अन्‍न-बलि, पाप-बलि र दोष-बलिहरू पूजाहारीहरूले खाने छन् र इस्राएलमा मेरो निम्‍ति अलग गरिएको हरेक थोक तिनीहरूले पाउनेछन्। 30खेतबारीका उब्‍जनीका अगौटे बाली, फलफूल र मलाई भेटी चढाएका अरू सबै थोकको उत्तम-उत्तम चीजहरू पूजाहारीहरूले पाउनेछन्। पिंधेको पिठोबाट बनाएको पहिलो रोटी मानिसहरूले पूजाहारीहरूलाई भेटीको रूपमा दिनेछन् र तिनीहरूका घरहरूमा मेरो आशिष् रहनेछ। 31#लेवी 22:8आफैं मरेका अथवा अर्को पशुले मारेका पशु वा पक्षीको मासु पूजाहारीहरूले खानेछैनन्।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 44: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्