YouVersion लोगो
खोज आइकन

इजकिएल 31

31
देवदारु रूखसँग मिश्रको तुलना
1हामी कैदमा लगिएको एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभु मसित बोल्‍नुभयो। 2उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, मिश्रका राजा र त्‍यसका सारा प्रजालाई यसो भन्:
“तँ कति शक्तिशाली छस्!
भनूँ, तँ कोजस्‍तो छस्?
3लेबनानको एउटा देवदारु रूखजस्‍तो तँ छस्,
जसका सुन्‍दर हाँगाहरूले बनलाई ढाकेका थिए।
हाँगा-बिँगाका बीचबाट त्‍यसको टुप्‍पो अग्‍लो भएर निस्‍केको थियो।
4रूख बढाउन त्‍यहाँ पानी थियो,
त्‍यो सिंचाइनलाई जमिनभित्र खोलाहरू थिए।
तिनीहरूले रूख उम्रिएको ठाउँमा पानी दिन्‍थे
र जङ्गलमा भएका सारा रूखहरूकहाँ पानीका कुलोहरू पठाउँथे
5किनभने त्‍यसले प्रशस्‍त पानी पाएको थियो,
अरू रूखहरूभन्दा त्‍यो अग्‍लो भएको थियो,
त्‍यसका हाँगाहरू ठूला र लामा भएका थिए।
6त्‍यसका हाँगाहरूमा हरेक किसिमका चरा-चुरुङ्गीहरूले गुँड बनाउँथे।
जङ्गली पशुहरूले यस रूखको छायामा बच्‍चा ब्‍याउँथे;
संसारका जाति-जातिहरूले त्‍यसको छायामा विश्राम लिन्‍थे।
7त्‍यो रूख कति सुन्‍दर:
यसका लामा हाँगाहरूका साथ कति अग्‍लो!
त्‍यसका जराहरू गहिरा बगिरहेका खोलाहरूसम्‍म पुगेका थिए।
8 # उत्‍पत्ति 2:9 परमेश्‍वरको बगैंचाको कुनै देवदारुको रूखले त्‍यसको दाँजो गर्न सक्‍दैन,
न त कुनै सल्‍लाको रूख वा कुनै साधारण रूख त्‍यसका हाँगा-बिँगासित तुलना गर्न सकिन्‍थ्‍यो,
परमेश्‍वरको बगैंचाको कुनै पनि रूखले त्‍यसका सुन्‍दरताको दाँजो गर्न सक्‍दैनथ्‍यो।
9हाँगा-बिँगाहरू फैलिएका त्‍यो रूखलाई मैले सुन्‍दर बनाएँ
र अदनमा भएको परमेश्‍वरको बगैंचाका सबै रूखहरूले त्‍यसको डाहा गर्थे।
10“अब, त्‍यो आकाशसम्‍म छुनेगरी उम्रेको रूखलाई के हुनेछ, म सार्वभौम परमप्रभु तँलाई भन्‍नेछु। जति त्‍यो अग्‍लो हुँदैगयो, त्‍यति त्‍यो घमण्‍डले फुल्दैगयो। 11यसकारण मैले त्‍यसलाई त्‍यागेको छु र एउटा विदेशी शासकको हातमा दिएको छु। त्‍यसको दुष्‍ट्याइँअनुसारको सुहाउँदो दण्‍ड त्‍यसलाई त्‍यो शासकले दिनेछ। 12निर्दयी विदेशीहरूले त्‍यसलाई काटेर फ्‍याँकिदिनेछन्। त्‍यसका भाँचिएका डाला र हाँगा-बिँगाहरू देशका हरेक पहाड र बेसीमा खस्‍नेछन्। त्‍यसको छायामा बास गर्ने जातिहरूले त्‍यो ठाँउ छोड्‍नेछन्। 13सबै चरा-चुरुङ्गीहरू आएर त्‍यस ढलेका रूखमा बस्‍नेछन् र जङ्गली जनावरहरू त्‍यसका हाँगा-बिँगामाथिबाट हिंड्‍नेछन्। 14अब उप्रान्‍त कुनै रूख जत्तिकै पानी पाए पनि त्‍यो रूखजस्‍तो अग्‍लो हुनेछैन वा त्‍यो आकाश छुनेगरी बढ्‍नेछैन र त्‍यति अग्‍लो कहिल्‍यै हुन सक्‍नेछैन। ती सबै मरिजाने मानिसहरूझैँ नाश भएर जानेछन् र मृत्‍यु-लोकमा पुग्‍नेछन्।”
15सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ, “जुन दिन त्‍यो रूख मृत्‍यु-लोकमा जानेछ, त्‍यो दिन म जमिनमुनिका पानीका मूललाई ढाक्‍नेछु र त्‍यो एउटा शोकको चिनो हुनेछ। म नदीहरूलाई रोक्‍नेछु र खोलाहरूलाई बग्‍न दिनेछैनँ। त्‍यो रूख मरेको कारणले म लेबनानका पहाडहरूमाथि अन्‍धकार ल्‍याउनेछु र जङ्गलका सबै रूखहरू ओइलाइदिनेछु। 16मैले त्‍यस रूखलाई नाश गरेको दिनमा त्‍यो ढलेको आवाजले जाति-जातिलाई थरथर कमाउनेछ। मृत्‍यु-लोकमा पुगेको अदनका सबै रूख र पानी प्रशस्‍त पाएर सप्रेका लेबनानका उत्तम रूखहरू त्‍यसको अन्‍त हुँदा रमाउनेछन्। 17ती रूखहरू पनि त्‍यसका साथ-साथ अघि मरेका रूखहरूसित मृत्‍यु-लोकमा मिल्‍न पुग्‍नेछन्। त्‍यसका छायाँमा बास गर्ने सबै मानिसहरू जाति-जातिका बीचमा तितरबितर हुनेछन्।
18“त्‍यो रूखचाहिँ मिश्रको राजा र त्‍यसका सारा प्रजा हुन्। अदनका बगैंचाका रूखहरू पनि त्‍यो जतिका अग्‍ला र मनलाई खिच्‍ने सुन्‍दर थिएनन्। तर त्‍यो अब पनि अदनको रूखझैँ मृत्‍यु-लोकमा पुग्‍नेछ र लडाइँमा मारिएका ती ईश्‍वर नमान्‍नेहरूसित गई मिल्‍नेछ। म बोलेको छु,” सार्वभौम परमप्रभु भन्‍दै हुनुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

इजकिएल 31: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्