YouVersion लोगो
खोज आइकन

इजकिएल 11:1-20

इजकिएल 11:1-20 सरल नेपाली

परमेश्‍वरको आत्‍माले मलाई उचाल्‍नुभयो र मन्‍दिरको पूर्वपट्टिको मूल-ढोकामा पुर्‍याउनुभयो। त्‍यहाँ मूल-ढोकाछेउ मैले पच्‍चीस जना मानिसहरूलाई देखें। तीमध्‍ये प्रजाका दुई अगुवाहरू अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याह पनि थिए। परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, यस सहरभित्र यी मानिसहरूले दुष्‍ट उपाय रच्‍छन् र खराब सल्‍लाह दिन्‍छन्। तिनीहरू यसो भन्‍छन्, ‘फेरि चाँडै हामी घरहरू बनाउन थाल्‍नेछौं। यो सहर एउटा पकाउने भाँडोझैँ छ र हामीचाहिँ त्‍यसमा पकाइने मासुझैँ छौं।’ यसकारण ए मरणशील मानिस, तिनीहरूका विरुद्धमा अगमवाणी गर्‌।” परमप्रभुको आत्‍मा ममा उत्रनुभयो र मानिसहरूलाई यो सन्‍देश दिन मलाई भन्‍नुभयो, “परमप्रभु भन्‍नुहुन्‍छ, हे इस्राएलका मानिसहरू हो, तिमीहरू के भन्‍दै छौ अनि के उपाय रच्‍दै छौ, सो म जान्‍दछु। तिमीहरूले यस सहरमा यति धेरै हत्‍या गरेका छौ कि गल्‍लीहरू लाशै-लाशले भरिएका छन्। “यसकारण म सार्वभौम परमप्रभु तिमीहरूलाई यसो भन्‍दछु, ‘यो सहर साँच्‍चै एउटा पकाउने भाँडो हो तर मासुचाहिँ के हो? तिमीहरूले मारेर फ्‍याँकेका लाशहरू नै मासु हो! तिमीहरू यहाँ रहनेछैनौ। म तिमीहरूलाई यस सहरबाट बाहिर खेदिदिनेछु! के तिमीहरू तरवारसित डराउँछौ? म तिमीहरूको विरुद्ध तरवार ल्‍याउनेछु। म तिमीहरूलाई सहरबाट लगेर विदेशीहरूका हातमा सुम्‍पिदिनेछु। मैले तिमीहरूलाई मृत्‍यु-दण्‍ड दिइसकेको छु। तिमीहरू इस्राएलको सिमानाभित्र लडाइँमा मारिनेछौ। तब म परमप्रभु हुँ भनी सबैले जान्‍नेछन्। भाँडाले त्‍यसभित्रको मासुलाई जोगाएझैँ यस सहरले त तिमीहरूलाई जोगाउनेछैन। इस्राएलको सिमानाभित्र म तिमीहरूलाई दण्‍ड दिनेछु। तिमीहरूले जान्‍नेछौ कि म नै परमप्रभु हुँ किनभने तिमीहरूले मेरा नियमहरू र आज्ञाहरू पालन गरेका छैनौ तर आफ्‍नो छिमेकी राष्‍ट्रहरूका नियम-विधिहरू पालन गरेका छौ।” मैले यो अगमवाणी गर्दैगर्दा बनायाहका छोरा पलत्‍याह मरे। म भूइँमा घोप्‍टो परें र चिच्‍च्‍याएर भनें, “सार्वभौम परमप्रभु के साँच्‍चै तपाईंले इस्राएलमा बाँकी रहेकाहरू सबैलाई मार्नुहुन्‍छ?” परमप्रभु मसित यसरी बोल्‍नुभयो, “ए मरणशील मानिस”, “यरूशलेमका बासिन्‍दाहरूले देश निकाला भएकाहरू अर्थात् तँ र तेरा इस्राएली बन्‍धुहरूबारे कुरा गर्दै छन्। तिनीहरू भन्‍छन्, ‘यी देशनिकाला भएकाहरू परमप्रभुदेखि टाढा छन् र उहाँले यस देशको अधिकार हामीलाई दिनुभएको छ।’ “अब तेरा इस्राएली बन्‍धुहरूलाई म के भन्‍दै छु, त्‍यो सुन्। तिनीहरूलाई टाढा देशहरूमा छरपष्‍ट पारेर अरू जातिहरूका माझमा बसोबास गर्न पठाउने म नै हुँ। तापनि केही समयको लागि तिनीहरू बसोबास गरेका देशहरूमा म तिनीहरूको साथमा हुनेछु। “यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु जे भन्‍दै छु त्यो सुना। मैले तिनीहरूलाई छरपष्‍ट पारिराखेका देशहरूबाट फेरि एकसाथ जम्‍मा गर्नेछु र तिनीहरूका हातमा यस इस्राएल देश फर्काइदिनेछु। जब तिनीहरू फर्की आउनेछन्, तब तिनीहरूले यहाँ भेट्टाउने सबै अशुद्ध र घिनलाग्‍दा मूर्तिहरू हटाउनेछन्। म तिनीहरूलाई एउटै हृदय र नयाँ आत्‍मा दिनेछु। म तिनीहरूका ढुङ्गाको कठोर हृदय हटाउनेछु र आज्ञाकारी हृदय दिनेछु। त्‍यसपछि तिनीहरूले मेरा नियमविधिहरू मान्‍नेछन् र होशियारीसाथ मेरा आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु।

इजकिएल 11 पढ्नुहोस्