YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 23:20-33

प्रस्‍थान 23:20-33 सरल नेपाली

“तिमीहरूले यात्रा गर्दा तिमीहरूलाई रक्षा गर्न र मैले तयार पारेको देशमा पुर्‍याउन म तिमीहरूको अघिअघि मेरो एउटा दूत पठाउनेछु। ध्‍यान दिएर तिनको कुरा सुन र मान। तिनको विरोध नगर किनभने तिनलाई मैले पठाएको हुँ र तिमीहरूको त्‍यस्‍तो अपराध तिनले क्षमा गर्नेछैनन्। तर तिमीहरूले तिनका कुराहरू मान्‍यौ र सबै काम मेरा आज्ञाअनुसार गर्‍यौ भने म तिम्रा सबै शत्रुहरूसँग लड्‍नेछु। मेरो दूतले तिमीहरूका अघिअघि गएर तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्‍वी र यबूसीहरूका देशमा पुर्‍याउनेछन् र म तिनीहरूलाई नाश पार्नेछु। तिनीहरूका देवताहरूलाई नपुज्‍नू वा नभज्‍नू र तिनीहरूका धार्मिक रीतिहरू नमान्‍नू। तिनीहरूका देवताहरूलाई नष्‍ट गर। तिनीहरूले पवित्र मानेका खम्‍बाहरू भाँचिदेओ। म परमप्रभु परमेश्‍वरलाई तिमीहरूले पुज्‍यौ भने म तिमीहरूलाई अन्‍न-पानीले आशीर्वाद दिनेछु र तिम्रा सबै रोगहरू हटाइदिनेछु। तिम्रा देशमा कुनै स्‍त्रीको गर्भ तुहुनेछैन र कोही पनि बाँझी रहनेछैन। म तिमीहरूलाई लामो आयु दिनेछु। “तिम्रो विरोध गर्ने मानिसहरूलाई म मेरो डर मान्‍न लाउनेछु। जोसँग तिमीहरू युद्ध गर्छौ, तिनीहरूका बीचमा खैलाबैला ल्‍याउनेछु र तिम्रा सबै शत्रुहरू तिमीहरूदेखि भाग्‍नेछन्। तिम्रा शत्रुहरूलाई आतङ्कमा पार्नेछु। तिमीहरू अगाडि बढ्दैजाँदा हित्ती, कनानी, हिव्‍वीहरूलाई म धपाउनेछु। म तिनीहरूलाई एकै वर्षभित्रमा धपाउनेछैनँ, मैले त्‍यसो गरें भने देश उजाड हुनेछ र जङ्गली जन्‍तुहरू तिमीहरूका लागि सङ्‍ख्‍यामा धेरै हुनेछन्। पूरा देश कब्‍जा गर्न तिमीहरूको सङ्‍ख्‍या नपुगेसम्‍म म तिनीहरूलाई अलिअलि गरी धपाउनेछु। म तिमीहरूका देशको सिमाना लाल समुद्रदेखि यूफ्रेटिस नदीसम्‍म अनि भूमध्‍य सागरदेखि मरुभूमिसम्‍म फैलाइदिनेछु। त्‍यस देशका बासिन्‍दाहरूमाथि म तिमीहरूको अधिकार दिनेछु। तिनीहरूलाई तिमीहरूले लखेट्‍नेछौ। तिनीहरूसँग वा तिनीहरूका देवताहरूसित तिमीहरूले कुनै कुरामा मेलमिलाप नगर्नू। ती मानिसहरूलाई तिम्रा देशमा बास गर्न नदिनू, बस्‍न दियौ भने तिनीहरूले तिमीहरूलाई मेरो विरुद्ध पाप गर्न लाउनेछन्। तिनीहरूका देवताहरू पुज्‍यौ भने तिमीहरू मृत्‍युको जालमा फस्‍नेछौ।”

प्रस्‍थान 23 पढ्नुहोस्