YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 23:20-33

प्रस्‍थान 23:20-33 NNRV

“हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्‍याउनलाई म एउटा दूत तिमीहरूका अगिअगि पठाउनेछु। ध्‍यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ। यदि तिमीहरूले तिनको कुरा सुन्‍यौ, र मैले भनेको सबै गर्‍यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु। मेरा दूत तिमीहरूका अगिअगि जानेछन्, र एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्‍वी र यबूसीहरूको देशमा तिमीहरूलाई पुर्‍याउनेछन्, र म उनीहरूको नाउँनिशान मेटिदिनेछु। उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार। तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्‍नपानीमा आशिष्‌ दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु। तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।” “म आफ्‍नो आतङ्क तिमीहरूका अगिअगि फैलाउनेछु, र तिमीहरू जुन जातिकहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्‍याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामुन्‍नेबाट भगाउनेछु। म तिमीहरूका अगिअगि अरिङ्गाल पठाउनेछु, र त्‍यसले हिव्‍वी, कनानी र हित्तीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछ। तर म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट एकै वर्षमा धपाउनेछैनँ, नत्रता देश उजाड़ भएर जानेछ, र जङ्गलका जन्‍तुहरू तिमीहरूका लागि संख्‍यामा धेरै हुनेछन्‌। तिमीहरू बढ़ेर त्‍यो देश आफ्‍नो अधिकारमा नपारुञ्‍जेल अलि-अलि गरेर म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछु।” “म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्‍तीहरूको समुद्रसम्‍म, र उजाड़-स्‍थानदेखि यसो यूफ्रेटिससम्‍मै तोकिदिनेछु। म त्‍यस देशका बासिन्‍दाहरूलाई तिमीहरूका हातमा सुम्‍पनेछु, र तिमीहरूले उनीहरूलाई धपाउनेछौ। तिमीहरूले उनीहरू र उनीहरूका देवताहरूसँग करार नबाँध्‍नू। तिमीहरूको देशमा उनीहरूलाई बस्‍न नदिनू, नत्रता उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउँछन्, किनकि तिमीहरूले उनीहरूका देवताको पूजा गर्‍यौ भने तिमीहरू निश्‍चय नै उनीहरूका फन्‍दामा पर्नेछौ।”