“इस्राएलीहरूलाई यी नियमहरू दिनू। तिमीहरूले हिब्रू कमारो किन्यौ भने त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गर्नेछ। सातौँ वर्षमा सित्तैमा त्यसलाई छोडिदिनू। त्यो कमारो भएर आएको बेलामा विवाह नगरी आएको थियो भने त्यो गएको बेलामा पनि त्यसको स्वास्नी नलगी एक्लै जाओस्; तर त्यो विवाह गरेर आएको थियो भने त्यसले आफ्नी स्वास्नी लिएर जाओस्। त्यसको मालिकले त्यसलाई स्वास्नी दिएका भए र त्यसबाट छोरा-छोरी जन्मिए भने ती स्वास्नी, छोरा-छोरीहरू मालिकका हुनेछन् र त्यो एक्लै जाओस्। तर त्यस कमाराले म आफ्ना मालिक, स्वास्नी, छोरा-छोरीहरूलाई माया गर्छु र स्वतन्त्र हुन चाहन्नँ भन्यो भने मालिकचाहिँले त्यसलाई पुज्ने स्थलमा लैजाओस् र त्यहाँ ढोका वा ढोकाको खम्बामा त्यसलाई खडा गरेर त्यसको कान छेडिओस्। त्यसो गरेपछि त्यो आफ्नो जीवनभरि कमारो भइरहनेछ। “कुनै मानिसले आफ्नी छोरीलाई कमारी बनाएर बेचेको छ भने त्यो केटी कमाराहरूजस्तो स्वतन्त्र भएर जान पाउनेछैन। कसैले त्यसलाई स्वास्नी बनाउन किनेको थियो र अब आफ्नी स्वास्नी बनाएर राख्न मन पराउँदैन भने त्यो केटीलाई त्यसकै बुबालाई बेचिदेओस्। त्यसको मालिकले त्यसलाई कुनै विदेशीको हातमा बेच्न सक्नेछैन किनभने त्यसले कमारीलाई अन्याय गरिसकेको छ। कुनै मानिसले आफ्नो छोरोको लागि कमारी किनिदिएको छ भने त्यसलाई छोरीजस्तै गरोस्। कुनै मानिसले अर्की स्वास्नी ल्यायो भने त्यसले अघिल्ली स्वास्नीलाई खानपान, लुगाफाटा र अघिझैँ स्वास्नीको अधिकार दिइराखोस्। यदि त्यस मानिसले आफ्ना यी कर्तव्यहरू पूरा गर्दैन भने त्यसले अघिल्लो स्वास्नीलाई एक पैसा नलिई स्वतन्त्र गरेर छोडिदेओस्। “कसैले मानिसलाई हिर्काएर मार्यो भने त्यो पनि मारिनुपर्छ। तर त्यसले मार्न नचिताएको तर पनि आकल-झुकलमा मानिस मारेको हो भने त्यो त्यस ठाउँमा भागेर जान सक्छ, जुन ठाउँ म तिमीहरूको निम्ति चुन्नेछु र त्यो त्यहाँ ढुक्कै बस्न सक्नेछ। तर कसैले रिस गरेर अनि मार्नै चिताएर अर्को मानिसलाई मार्यो भने र आफैंलाई बचाउन मेरै वेदीमा नै त्यो आएको छ भने पनि त्यसलाई नछोड्नू, त्यो मारिनुपर्छ। “आफ्ना बुबा वा आमालाई हिर्काउने मारिनुपर्छ। “कसैले कमारो बनाएर बेच्न वा राख्न कुनै मानिसलाई बलजफ्ती गरेर लैजान्छ भने त्यो लाने मानिस मारिनेछ। “आफ्ना आमा वा बुबालाई सराप दिन्छ भने त्यो मारिनुपर्छ। “मानिसहरूले झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गा वा मुक्काले हिर्कायो तर मारिहालेन भने त्यसलाई सजाय हुनेछैन। कुटाइ खाने मानिसचाहिँ ओछ्यान पर्यो भने तर पछिबाट उठेर लट्ठी टेकी हिँड्न सक्ने भयो भने हिर्काउनेले त्यो ओछ्यान परेको बेलाको खर्च त्यसलाई देओस् र त्यो निको नभएसम्म त्यसको रेखदेख गरोस्। “कुनै मानिसले आफ्नो कमारो वा कमारीलाई लट्ठीले हिर्काउँदा कुटेकै ठाउँमा मर्यो भने त्यस मानिसलाई दण्ड हुनेछ। तर त्यो कमारो वा कमारी एक वा दुई दिनसम्म मरेन र त्यसपछि मात्र मर्यो भने त्यसलाई दण्ड दिइनेछैन। क्षति भएको धन नै त्यसको निम्ति दण्ड हुनेछ।
प्रस्थान 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 21:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू