“अब मैले तिमीहरूको सामु राख्ने विधानहरू यी नै हुन्। “तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गरोस्। तर सातौँ वर्षमा केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्। त्यो एकलै आएको भए एकलै जाओस्। त्यसले विवाह गरेर आएको भए त्यसकी पत्नी पनि त्यसैसँग जाओस्। यदि त्यसका मालिकले त्यसलाई पत्नी दिएका भए, र त्यसले छोराछोरीहरू जन्माई भने, पत्नी र छोराछोरीहरू त्यसका मालिकका हुनेछन्, र त्यो मात्र स्वतन्त्र भएर जाओस्। “तर यदि त्यस कमाराले स्पष्टसँग, मलाई मेरा पत्नी र छोराछोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्नँ भन्यो भने, त्यसको मालिकले त्यसलाई न्यायकर्ताहरूकहाँ ल्याओस्, र त्यसलाई ढोका कि ढोकाको सँघारमा ल्याएर त्यसको कान सुतारोले छेड़ोस्। त्यसपछि त्यो आजीवन मालिकको नोकर हुनेछ। “यदि कुनै मानिसले आफ्नी छोरी कमारी हुनलाई बेचेको छ भने, त्योचाहिँ कमाराझैँ स्वतन्त्र भएर नजाओस्। त्यसलाई ल्याएर पनि त्यसको मालिकलाई त्यो असल लागेन भने मोल तिरेर त्यो छुटोस्। मालिकले त्यससँग कुव्यवहार गरेको कारण त्यसलाई विदेशीको हातमा बेच्ने त्यसलाई अधिकार हुनेछैन। यदि मालिकले त्यसलाई आफ्नो छोरालाई दिएको भए, त्यससित छोरीलाईझैँ व्यवहार गरोस्। त्यसले अर्की पत्नी ल्यायो भने, पहिलीलाई खानेकुरा र लुगाफाटा दिन र दाम्पत्य कर्तव्य पूरा गर्न त्यसले नछोड़ोस्। यदि मालिकले त्यससित यी तीनै वटा काम गरेन भने, त्यो केही नतिरी विनामोल स्वतन्त्र होस्। “कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यो पनि मारिनैपर्छ। तर यदि कुनै मानिसले सो जानाजानी गरेको थिएन तर परमेश्वरले त्यसो हुन दिनुभएको हो भने, त्यो भाग्नलाई म एउटा स्थान तोकिदिनेछु। तर यदि अर्को मानिसलाई युक्ति गरेर कुनै मानिसले मार्यो भने, त्यसलाई मेरो वेदीबाटै भएपनि मार्नका निम्ति लैजानू। “जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, त्यो मारिनैपर्छ। जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिँदा त्यो त्यसकै हातमा फेला पर्छ, त्यो मारिनैपर्छ। “जसले आफ्नो बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ। “यदि मानिसहरू झगड़ा गरेर एउटाले अर्कालाई ढुङ्गाले अथवा मुक्काले हिर्कायो, र त्यो मर्न त मरेन तर ओछ्यानमा पर्यो, र त्यो फेरि उठेर लाठीको भरले यताउता हिँड्डुल गर्ने भयो भने, त्यसलाई हिर्काउने मानिस निर्दोष ठहरिनेछ। तर त्यो पस्रिरहेको समयको खर्च हिर्काउने मानिसले देओस्, र त्यो पूरा निको नभएसम्म त्यसले त्यसको उपचार गरोस्।” “यदि कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लाठीले हिर्काउँदा त्यसको हातले त्यो मर्यो भने, त्यसको दण्ड हुनैपर्छ। तर त्यो एक-दुई दिनपछि उठ्यो भने मालिकलाई दण्ड नमिलोस्, किनकि त्यो उसको धन हो।
प्रस्थान 21 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 21:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू