परमप्रभुले मोशा र हारूनलाई मिश्रमा यसो भन्नुभयो, “यो महिना तिमीहरूको निम्ति वर्षको पहिलो महिना हुनेछ। इस्राएलका सबै मानिसहरूलाई यसो भन्– यस महिनाको दशौँ दिनमा हरेकले आ-आफ्ना परिवारअनुसार एउटा भेडा वा बाख्राको पाठो लिनुपर्नेछ। उसको परिवार सानो छ र एउटा सिङ्गै पाठा खाइसक्दैन भने उसले छेउको छिमेकीसित कति जना जम्मा खानेहरू छन् र प्रत्येकले कति खान सक्छन्, हिसाब गरेर त्यो पाठो बाँडी खाए हुन्छ। भेडा वा बोका जे लिए पनि हुन्छ; तर त्यो एक वर्ष पुगेको खोट नभएको पाठो हुनुपर्छ। महिनाको चौधौँ दिनमा साँझको बेलामा सबै इस्राएलीहरूले ती पाठाहरू मार्नू। जुन-जुन घरमा पाठोको मासु खानेछन्, तिनका ढोकाका खम्बाहरूमा र ढोका मास्तिर पाठोको रगत पोतिदिनू। त्यही रात तिनीहरूले ती मासु आगोमा पोलेर तिता सागपात र खमिर नलाएको रोटीसित खाऊन्। कुनै मासु काँचै वा पानीमा उसिनेर नखाओ तर सिङ्गै टाउको, खुट्टा र आन्द्रा-भुँडीहरूसमेत आगोमा पोलेर खाओ। मासुको केही भाग पनि बिहानसम्म उबारी नराख्नू; तर केही उब्रियो भने त्यो आगोमा डढाइदिनू। हतार-हतार त्यो खानू किनभने तिमीहरूले खुट्टामा जुत्ता लाएर अनि हातमा लौरो लिएर यात्रा गर्न कम्मर कसेर बस्नुपर्छ। यो निस्तार-चाड म परमप्रभुको आदर गर्नलाई हो। “त्यस रात म मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू र गाईवस्तुका पहिले ब्याएका बाछाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूलाई दण्ड दिनेछु। म परमप्रभु हुँ। ढोकाका खम्बाहरूमा पोतिएका रगत तिमीहरू बसेका घरमा चिन्ह हुनेछ। त्यो रगत देखेर म तिमीहरूलाई बचाउनेछु र मैले मिश्रीहरूलाई दण्ड दिएको बेलामा तिमीहरूमाथि केही विपत्ति पर्नेछैन।
प्रस्थान 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 12:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू