प्रस्थान 12:1-13
प्रस्थान 12:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यो महिनाचाहिँ तिमीहरूका निम्ति महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। इस्राएलका सारा समुदायलाई यसो भन, कि महिनाको दशौँ दिनमा तिनीहरू हरेकले आ-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्याएर राखोस्। कसैको घरानामा एउटा पाठाको लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस्। हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नू। तिमीहरूको पाठो खोटरहित होस्— एक वर्षको पाठो। तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू। त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्। तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन्। तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्। तीतो सागसित तिनीहरूले त्यो खाऊन्। त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरूसमेत खाओ। त्यसबाट केही पनि बिहानसम्म नउबार्नू, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनू। पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू। यो परमप्रभुको निस्तार-चाड़ हो। “त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु। म परमप्रभु हुँ। तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन।
प्रस्थान 12:1-13 पवित्र बाइबल (NERV)
जब तिनीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो। “यो महिना नै तिमीहरूको निम्ति बर्षको पहिलो महिना हुनेछ। यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ। एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ। पाठो एक बर्षको र खोट रहित हुनुपर्छ। पाठो भेंडा अथवा बाख्राको भए पनि हुन्छ। तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसँग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ। यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन् ढोकाहरूमाथि छर्नु पर्छ। “त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ। पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ। बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ। “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किनभने यो परमप्रभुको निस्तार हो। “आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ। तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
प्रस्थान 12:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशा र हारूनलाई मिश्रमा यसो भन्नुभयो, “यो महिना तिमीहरूको निम्ति वर्षको पहिलो महिना हुनेछ। इस्राएलका सबै मानिसहरूलाई यसो भन्– यस महिनाको दशौँ दिनमा हरेकले आ-आफ्ना परिवारअनुसार एउटा भेडा वा बाख्राको पाठो लिनुपर्नेछ। उसको परिवार सानो छ र एउटा सिङ्गै पाठा खाइसक्दैन भने उसले छेउको छिमेकीसित कति जना जम्मा खानेहरू छन् र प्रत्येकले कति खान सक्छन्, हिसाब गरेर त्यो पाठो बाँडी खाए हुन्छ। भेडा वा बोका जे लिए पनि हुन्छ; तर त्यो एक वर्ष पुगेको खोट नभएको पाठो हुनुपर्छ। महिनाको चौधौँ दिनमा साँझको बेलामा सबै इस्राएलीहरूले ती पाठाहरू मार्नू। जुन-जुन घरमा पाठोको मासु खानेछन्, तिनका ढोकाका खम्बाहरूमा र ढोका मास्तिर पाठोको रगत पोतिदिनू। त्यही रात तिनीहरूले ती मासु आगोमा पोलेर तिता सागपात र खमिर नलाएको रोटीसित खाऊन्। कुनै मासु काँचै वा पानीमा उसिनेर नखाओ तर सिङ्गै टाउको, खुट्टा र आन्द्रा-भुँडीहरूसमेत आगोमा पोलेर खाओ। मासुको केही भाग पनि बिहानसम्म उबारी नराख्नू; तर केही उब्रियो भने त्यो आगोमा डढाइदिनू। हतार-हतार त्यो खानू किनभने तिमीहरूले खुट्टामा जुत्ता लाएर अनि हातमा लौरो लिएर यात्रा गर्न कम्मर कसेर बस्नुपर्छ। यो निस्तार-चाड म परमप्रभुको आदर गर्नलाई हो। “त्यस रात म मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू र गाईवस्तुका पहिले ब्याएका बाछाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूलाई दण्ड दिनेछु। म परमप्रभु हुँ। ढोकाका खम्बाहरूमा पोतिएका रगत तिमीहरू बसेका घरमा चिन्ह हुनेछ। त्यो रगत देखेर म तिमीहरूलाई बचाउनेछु र मैले मिश्रीहरूलाई दण्ड दिएको बेलामा तिमीहरूमाथि केही विपत्ति पर्नेछैन।