मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यो महिनाचाहिँ तिमीहरूका निम्ति महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। इस्राएलका सारा समुदायलाई यसो भन, कि महिनाको दशौँ दिनमा तिनीहरू हरेकले आ-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्याएर राखोस्। कसैको घरानामा एउटा पाठाको लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस्। हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नू। तिमीहरूको पाठो खोटरहित होस्— एक वर्षको पाठो। तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू। त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्। तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन्। तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्। तीतो सागसित तिनीहरूले त्यो खाऊन्। त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरूसमेत खाओ। त्यसबाट केही पनि बिहानसम्म नउबार्नू, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनू। पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू। यो परमप्रभुको निस्तार-चाड़ हो। “त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु। म परमप्रभु हुँ। तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन।
प्रस्थान 12 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 12:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू