YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 5:6-22

व्‍यवस्‍था 5:6-22 सरल नेपाली

‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरू कमारा-कमारी भई बसेका देश मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याएँ। “मबाहेक अरू कुनै ईश्‍वरलाई तिमीहरूले नपुज्‍नू। “ ‘तिमीहरूले आफ्‍नो लागि स्‍वर्ग र पृथ्‍वी वा पृथ्‍वीमुनिका पानीमा भएका कुनै पनि कुराको मूर्ति नबनाउनू। कुनै मूर्तिको अघि तिमीहरूले टाउको ननिहुराउनू अनि त्‍यसलाई नपुज्‍नू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ र यस्‍तो विरोधीलाई सहँदिनँ। मलाई घृणा गर्नेहरू र तिनका सन्‍तानमाथि तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड दिन्‍छु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञा मान्‍नेहरूमाथि हजारौँ पुस्‍तासम्‍म म आफ्‍नो प्रेम देखाउँछु। “व्‍यर्थैमा मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वरले मेरो नाम दुरुपयोग गर्नेहरूलाई दण्‍ड दिनेछु। “म तिम्रा परमेश्‍वर परमप्रभुले आज्ञा गरेअनुसार विश्रामको दिन मान्‍नू र त्‍यसलाई पवित्र राख्‍नू। तिमीहरूले छ दिनसम्‍म काम गर्नेछौ, तर सातौँ दिन मलाई अर्पण गरेको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू– तिमीहरू, तिम्रा छोरा-छोरीहरू, कमारा-कमारी, जीव-जन्‍तु, तिम्रा देशमा बास गर्ने विदेशी कसैले काम नगरोस्। तिम्रा कमारा-कमारीहरूले पनि तिमीहरूले झैँ विश्राम गर्नुपर्छ। याद राख कि मिश्रमा तिमीहरू कमारा-कमारी थियौ र म परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो महान् शक्ति र बलले तिमीहरूलाई बचाइ ल्‍याएँ। त्‍यसैकारण म तिमीहरूलाई विश्रामको दिन मान्‍न आज्ञा गर्दछु। “म तिम्रा परमेश्‍वर परमप्रभुले आज्ञा गरेअनुसार आ-आफ्‍ना आमा-बुबालाई आदर गर। त्‍यसो गरे, सबै कुरामा तिमीहरूलाई भलो हुनेछ र मैले तिमीहरूलाई दिन लागेको देशमा धेरै दिनसम्‍म बाँच्‍न सक्‍नेछौ। “हत्‍या नगर! “व्‍यभिचार नगर! “चोरी नगर! “कसैलाई झूटो दोष नलगाऊ। “अर्काकी स्‍वास्‍नीको लालच नगर, उसको घर वा जमिन, कमारा-कमारी, गाई-वस्‍तु, गधाहरू र ऊसँग भएका अरू कुनै कुराको लालच नगर।’ “पर्वतमा भेला भएका बेलामा तिमीहरू सबैलाई परमप्रभुले दिनुभएका आज्ञाहरू यी नै हुन्। आगो र बाक्‍लो बादलका बीचबाट उहाँ बोल्‍नुहुँदा अरू होइन तर यी नै आज्ञाहरू दिनुभएको थियो। त्‍यसपछि ती आज्ञा उहाँले दुईवटा ढुङ्गाका पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो।

व्‍यवस्‍था 5 पढ्नुहोस्