YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 33:1-12

व्‍यवस्‍था 33:1-12 सरल नेपाली

मर्नुभन्दा अघि परमेश्‍वरका जन मोशाले इस्राएलका मानिसहरूलाई दिएका आशीर्वादका वचन यी हुन्: परमप्रभु सीनै पर्वतबाट आउनुभयो, उहाँ सूर्य उदाएझैँ एदोममाथि उदाउनुभयो र पारान पहाडबाट आफ्‍ना प्रजामाथि चम्‍कनुभयो। दश हजार स्‍वर्गदूतहरू उहाँसित थिए, उहाँका दाहिने हातमा आगोको ज्‍वाला थियो। परमप्रभुले आफ्‍ना प्रजालाई प्रेम गर्नुहुन्‍छ, अनि जो आफ्‍ना हुन्, तिनको रक्षा गर्नुहुन्‍छ। यसकारण हामी उहाँको चरणमा दण्‍डवत् गर्दछौं, र उहाँका आज्ञाहरू पालन गर्दछौं। हाम्रा जातिको सबैभन्दा मूल्‍यवान् सम्‍पत्ति– मोशाले हामीलाई दिएका नियमहरू पालन गर्दछौं। इस्राएलका कुलहरू र अगुवासहित एक ठाउँमा भेला भएका बेलामा परमप्रभु आफ्‍ना इस्राएली जनहरूका राजा हुनुभयो। मोशाले रूबेनका कुलबारे भने: “त्‍यसका मानिसहरू थोरै भए तापनि रूबेन कहिल्‍यै नमरोस्!” उनले यहूदा कुलबारे भने: “परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्‍नुहोस्, अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्। परमप्रभु! तिनीहरूको निम्‍ति लडिदिनुहोस्, र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।” उनले लेवीका कुलबारे भने: “परमप्रभु! ऊरीम र तुम्‍मीमद्वारा आफ्‍नो इच्‍छा प्रकट गर्नुहोस्, आफ्‍नो विश्‍वासी सेवक लेवीहरूद्वारा त्‍यसो गर्नुहोस्। तपाईंले तिनीहरूलाई मस्‍साहमा जाँच्‍नुभयो, र मरीबाका पानीनिर तिनीहरू सच्‍चा छन् भनी प्रमाण गर्नुभयो। तिनीहरूले आफ्‍ना आमा-बुबा, दाजुभाइ र छोरा-छोरीहरूप्रति भन्दा तपाईंप्रति झन् बढ्ता भक्ति देखाए, तिनीहरूले तपाईंका आज्ञाहरू पालन गरे र तपाईंका करारप्रति विश्‍वासयोग्‍य रहे। तिनीहरूले आफ्‍ना प्रजालाई तपाईंका नियम मान्‍न सिकाउनेछन्; तिनीहरूले तपाईंको वेदीमा बलिहरू चढाउनेछन्। हे परमप्रभु! तिनका कुललाई बलियो बन्‍न मद्दत गर्नुहोस्, तिनीहरूले जे गर्छन्, त्‍यसमा प्रसन्‍न हुनुहोस्। तिनका शत्रुहरूलाई चुर-चुर पारिदिनुहोस्, र तिनीहरू फेरि कहिल्‍यै उठ्‍न नसकून्।” उनले बेन्‍यामीनको कुलबारे भने: “परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्‍छ, र उहाँ तिनका माझमा बास गर्नुहुन्‍छ।”