YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 24

24
छुटानाम र पुन: विवाह
1 # मत्ती 5:31; 19:7; मर्कूस 10:4 “एउटा मानिसले एउटी स्‍त्रीलाई विवाह गर्छ तर पछिबाट उसलाई मन नपर्ने कुरा त्‍यसमा पाएर त्‍यसलाई राख्‍न चाहन्‍न भनी निश्‍चय गर्छ भने छुटानामको कागजपत्र लेखी त्‍यसलाई दिएर आफ्‍नो घरबाट निकाली पठाउला। 2त्‍यसपछि त्‍यस स्‍त्रीले अर्को मानिससित विवाह गर्छे। 3तर यदि त्‍यसले पनि म यसलाई चाहन्‍नँ भनी निश्‍चय गरेर छुटनामको कागजपत्र लेखी त्‍यसलाई दिएर आफ्‍नो घरबाट निकालिदियो भने कि त त्‍यो दोस्रो लोग्‍ने आफैं मर्‍यो भने 4पनि त्‍यसको पहिलो लोग्‍नेले त्‍यसलाई फेरि विवाह नगरोस् र त्‍यसलाई कलङ्क लागेको भनिठानोस्। उसले त्‍यसलाई फेरि विवाह गर्‍यो भने त्‍यो परमप्रभुको अघि घिनलाग्‍दो कुरो हुनेछ। यस्‍तो डरलाग्‍दो पाप परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूले नगर्नू।
विविध नियमहरू
5“भर्खरै विवाह गरेको पुरुषलाई सेनामा तथा अरू कुनै जनसाधारणको काममा नलाउनू। एक वर्ष त्‍यसलाई त्‍यस्‍ता कामबाट छोडिदिनू अनि घर बसेर त्‍यसले आफ्‍नी स्‍वास्‍नीलाई खुसी पारोस्।
6“कसैलाई केही थोक सापटी दियौ भने त्‍यसको अन्‍न पिस्‍ने जाँतो बन्‍धकमा नलिनू। त्‍यसो भयो भने त्‍यसको परिवारको जीविका चलाउने उपाय खोसिन्‍छ।
7 # प्रस्‍थान 21:16 “एउटा इस्राएलीले अर्को इस्राएलीलाई चोरेर लगी दास बनायो वा दास बनाएर बेचिदियो भने त्‍यो मारिनुपर्छ। यस प्रकारले तिमीहरूले त्‍यो दुष्‍ट्याइँ हटाउनुपर्छ।
8 # लेवी 13:1—14:54 “तिमीलाई डरलाग्‍दो चर्मरोग लागेको छ भने लेवी पूजाहारीहरूले भनेअनुसार सबै कुरा ठीकसँग गर। मैले तिनीहरूलाई दिएको आदेश मान। 9#गन्ती 12:10तिमीहरू मिश्रबाट आउँदा परमप्रभु तिम्रा परमेश्‍वरले मिरियमसित गर्नुभएको कुरा याद राख।
10 # प्रस्‍थान 22:26,27 “कसैलाई कुनै कुरा ऋण दिँदा त्‍यसले बन्‍धकीमा दिएको वस्‍त्र लिनलाई त्‍यसको घरभित्र नपस्‍नू। 11बाहिर पर्खेर बस्‍नू र त्‍यो आफैंले त्‍यो वस्‍त्र लिएर तिमीलाई देओस्। 12त्‍यो मानिस गरीब छ भने त्‍यसको वस्‍त्र आफूसित रातभरि नराख्‍नू, 13साँझपछि त्‍यो त्‍यसलाई फर्काइदिनू र त्‍यो ओडेर त्‍यो सुत्‍न सकोस्। तब त्‍यो धन्‍यवादी हुनेछ र परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीसित खुसी हुनुहुनेछ।
14 # लेवी 19:13 “अभावमा रहेका ज्‍यालामा काम गर्ने गरीब नोकरलाई नठग्‍नू। त्‍यो एउटा इस्राएली साथीभाइ होस् वा कुनै तिम्रो सहरमा बास गर्ने परदेशी होस्, त्‍यसलाई नठग। 15हरेक दिन घाम अस्‍ताउनुभन्दा अघि त्‍यसलाई दिन-दिनको ज्‍याला दिनू। त्‍यसलाई त्‍यो पैसाको जरुरत छ र त्‍यसले पाउने आशा गरेको छ। त्‍यसलाई त्‍यो ज्‍याला दिएनौ भने त्‍यसले तिम्रो विरुद्धमा परमप्रभुलाई पुकार्नेछ र त्‍यो पापको दोष तिमीहरूलाई लाग्‍नेछ।
16 # २ राजा 14:6; २ इतिहास 25:4; इजकिएल 18:20 “छोरा-छोरीहरूले गरेका अपराधको निम्‍ति आमा-बुबाहरू अनि आमा-बुबाले गरेका अपराधको निम्‍ति छोरा-छोरीहरू मारिनुहुन्‍न। आफैंले गरेको पापको निम्‍ति मात्र मानिस मारिनेछ।
17 # प्रस्‍थान 23:9; लेवी 19:33,34; व्यवस्था 27:19 “परदेशीहरू वा टुहुरा-टुहुरीको हक नखोस्‍नू। एउटी विधवालाई ऋण दिँदा त्‍यसको वस्‍त्र बन्‍धक नलिनू। 18याद राख कि तिमीहरू मिश्रमा कमारा-कमारी थियौ अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभयो। त्‍यही कारण मैले यो आज्ञा तिमीहरूलाई दिएको हुँ।
19 # लेवी 19:9,10; 23:22 “जब तिमीहरू आफ्‍ना अन्‍नबाली बटुल्‍छौ, केही अन्‍न छोडियो भने त्‍यो लिनलाई फर्की नजानू। त्‍यो विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको निम्‍ति छोडिदिनू अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा सबै काममा तिमीहरूलाई आशिष् दिनुहुनेछ। 20तिमीहरूले एकपल्‍ट जैतुन टिपिसकेपछि छुटेका जैतुन टिप्‍नलाई फर्की नजानू। ती विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई छोडिदिनू। 21एकपल्‍ट दाख टिपिसकेपछि दोस्रोपल्‍ट त्‍यो बोटबाट फल टिप्‍न फर्की नजानू। छुटेका दाखचाहिँ विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको लागि हुनेछ। 22तिमीहरू मिश्रमा कमारा-कमारी थियौ भन्‍ने कुरा कहिल्‍यै नभुल्‍नू। त्‍यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिएको हुँ।

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 24: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्