“जुन मानिसहरूको देश तिमीहरूलाई दिइन्छ, तिनीहरूलाई परमप्रभुले ती गर्नुभएपछि र तिनीहरूका सहर र घरहरू तिमीहरूले लिएर त्यहाँ बास गर्न थालेपछि त्यस देशलाई तीन भाग गर्नू। हरेक भागमा एक-एक वटा सजिलैसित पुग्न सकिने सहर रहोस्। तब तीमध्ये एउटा सहरमा कुनै पनि हत्यारा सुरक्षाको लागि भागेर जान सक्छ। यदि कसैले बिनावैरभाव कुनै मानिसलाई भुलचुकमा मार्यो भने त्यो त्यस सहरमा भागेर गई कुशलसित रहन सक्छ। उदाहरणको लागि यदि दुई जना मानिसहरू दाउरा काट्नलाई जङ्गलमा जान्छन्। एउटाले रूख काट्दैगर्दा हातबाट बन्चरो फुस्केर गई अर्कोलाई मार्यो भने त्यो मानिस ती तीन सहरमध्ये कुनै एउटामा भागेर गई ज्यान बचाउन सक्छ। यदि एउटै मात्र सहर छ भने त्यो धेरै टाढा पर्न जाला। त्यसो भए हत्याको बदला लिन सक्ने नातेदारले त्यो निर्दोष मानिसलाई पक्रेर आफ्नो रिसमा मार्न सक्ला। हुन त त्यसले बिनावैरभाव भुल-चुकमा नै एक जनालाई मारेको थियो। यसकारण म तिमीहरूलाई तीन वटा सहर अलग गर्ने आज्ञा दिँदछु। “जब परमप्रभु तिम्रा परमेश्वरले तिम्रा पुर्खाहरूलाई भनेअनुसार तिम्रा देशको सिमाना बढाउनुहुन्छ र आफूले प्रतिज्ञा गरेअनुसार सारा देश दिनुहुन्छ, तब तिमीहरूले अरू तीनवटा सहरहरू चुन्नू। (यदि मैले आज तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले गर्यौ र परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्यौ र उहाँका शिक्षाअनुसार जीवन बितायौ भने उहाँले त्यो देश तिमीहरूलाई दिनुहुनेछ।) तिमीहरूले त्यसो गर र निर्दोष मानिसहरू नमारिऊन् अनि परमप्रभुले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिनलाई मारेको दोष तिनीहरूलाई नलागोस्। “कसैले आफ्ना शत्रुलाई जानीजानी निर्दयतापूर्वक मारेर ती सहरहरूमध्ये एउटामा सुरक्षाको लागि भागिगयो भने त्यसको आफ्नै सहरका अगुवाहरूले त्यसलाई झिकाएर त्यस हत्याको लागि बदला लिने नातेदारका हातमा सुम्पिदिनेछन् र त्यो मारिनेछ। त्यसलाई केही दया नदेखाउनू। त्यस हत्यारालाई इस्राएलबाट नाश गरिदेओ र तिमीहरूलाई सबै कुरामा भलो हुनेछ।
व्यवस्था 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 19:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू